
काठमाडौं, ११ जनवरी (हि.स.)। ‘इन्डियन आइडल’ का विजेता गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार बिहान दिल्लीस्थित आफ्नै निवासमा निधन भएको छ। उनले गाएका थुप्रै नेपाली गीतहरू अत्यन्त लोकप्रिय रहेका छन्।
उनका निकट फिल्मकर्मी राजेश घतानीका अनुसार, नेपालमा अत्यन्त चर्चित प्रशान्त तामाङको आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा निधन भएको हो। घतानीले फोनमार्फत उनको निधनको पुष्टि गर्दै हृदयाघातका कारण मृत्यु भएको जानकारी दिएका छन्। ४३ वर्षीय तमाङले नेपाली चलचित्रहरूमा अभिनय तथा पार्श्वगायन दुवै गरेका थिए।
प्रशान्त तमाङले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन–२’ बाट नेपाली सिनेमा क्षेत्रमा अभिनयको सुरुवात गरेका थिए। चलचित्र ‘हिम्मत–२’ बाट उनले पहिलो पटक पार्श्वगायन गरेका थिए।
यसपछि उनले ‘अंगालो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’ भाग–१ र २ जस्ता चलचित्रहरूमा अभिनय गरे। ‘दिल’, ‘अनमोल छन्’ र ‘हिम्मत–२’ चलचित्रमा उनले पार्श्वगायन पनि गरेका छन्। उनले सलमान खान अभिनीत चलचित्र ‘बैटल अफ गलवान’ मार्फत बलिउडमा डेब्यु गरेका थिए। उक्त चलचित्रको छायांकन पूरा भइसकेको थियो र उनी डबिङको तयारीमा थिए।
भारतको दार्जिलिङमा जन्मेका प्रशान्त तमाङले सन् २०११ मा नेपाली एयर होस्टेस गीता थापासँग विवाह गरेका थिए। उनकी एक छोरी छन्। उनले केही समय कोलकाता पुलिसमा कन्स्टेबलका रूपमा पनि सेवा दिएका थिए। सन् २००७ मा उनको डेब्यु एल्बम ‘धन्यवाद’ सार्वजनिक भएको थियो। ‘वीर गोर्खाली’ र ‘असारे महिनामा’ उनका चर्चित गीतहरूमा पर्छन्।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी