
क्रिसमसको विशेष अवसरमा अक्षय कुमारले आफ्ना फ्यानहरूलाई ठूलो सरप्राइज दिएका छन्। अभिनेता अक्षयले आफ्नो आगामी फिल्म ‘वेलकम टु द जंगल’ सँग सम्बन्धित एक विशेष भिडियो सार्वजनिक गरेका छन्, जुन सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। भिडियो सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकहरूको उत्सुकता झन् बढेको छ। विशेष कुरा के भने, यही भिडियोमार्फत अक्षयले फिल्मको रिलिज समय पनि खुलासा गरेका छन्।
“कहिल्यै यति ठूलो फिल्मको हिस्सा भएको थिइनँ” : अक्षय कुमार
अक्षय कुमारले यो भिडियो एक्समा सेयर गर्दै लेखेका छन्, “वेलकम टु द जंगलको सम्पूर्ण टिमको तर्फबाट तपाई सबैलाई क्रिसमसको धेरै–धेरै शुभकामना। यो फिल्म क्रिसमस 2026 मा सिनेमाघरहरूमा रिलिज हुनेछ। हामीमध्ये कोही पनि यसअघि यति ठूलो फिल्मको हिस्सा भएका थिएनौं। अब यो उपहार तपाईहरूसामु प्रस्तुत गर्न हामी उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छौं। साथीहरू, सुटिङ सकिएको छ। शाबास टिम। यसलाई बनाउन संलग्न प्रत्येक व्यक्तिको मेहनत प्रशंसनीय छ।”
स्टारहरूले भरिएको छ ‘वेलकम टु द जंगल’
फिल्मको स्टारकास्ट नै यसको सबैभन्दा ठूलो शक्ति मानिएको छ। अक्षय कुमारसँगै यो मल्टिस्टारर कमेडी फिल्ममा परेश रावल, सुनील शेट्टी, अरशद वारसी, तुषार कपूर, राजपाल यादव, ज्याकी श्रफ र जोनी लिभर महत्वपूर्ण भूमिकामा देखिनेछन्। साथै दिशा पाटनी, रवीना टन्डन, ज्याकलिन फर्नान्डिस र लारा दत्ताले पनि फिल्ममा कमेडीको स्वाद थप्नेछन्।
उल्लेखनीय छ, अभिनेता संजय दत्त पनि सुरुमा यस प्रोजेक्टको हिस्सा थिए र करिब १५ दिन सुटिङ पनि गरेका थिए, तर पछि कुनै कारणवश उनले फिल्म छाडे।
‘वेलकम’ फ्रेन्चाइजीको तेस्रो किस्ता
‘वेलकम टु द जंगल’ सुपरहिट ‘वेलकम’ फ्रेन्चाइजीको तेस्रो फिल्म हो। यसको निर्माण फिरोज नाडियाडवालाले गरेका हुन् भने निर्देशनको जिम्मेवारी फेरि एकपटक अनीस बज्मीले सम्हालेका छन्। फ्रेन्चाइजीको पहिलो फिल्म ‘वेलकम’ सन् 2007 मा रिलिज भएको थियो भने दोस्रो फिल्म ‘वेलकम ब्याक’ 2015 मा दर्शकमाझ आएको थियो। करिब एक दशकपछि अक्षय कुमारको पुनरागमनसँगै यो सिरिज फेरि ठूलो पर्दामा छाउन तयार छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी