

- सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयद्वारा ‘महिला उद्यमशीलता दिवस’ पालन
नयाँ दिल्ली, २१ नोभेम्बर (हि.स.)। केन्द्रिय सूक्ष्म, लघु तथा मध्यम उद्यममन्त्री जीतनराम मांझीले परिवार, समाज र अर्थतन्त्रलाई सुदृढ बनाउन महिलाहरूले निर्वाह गर्दै आएको बहुआयामिक भूमिकामाथि प्रकाश पारेका छन्।
नयाँ दिल्लीमा आयोजित ‘महिला उद्यमशीलता दिवस २०२६’ समारोहलाई सम्बोधन गर्दै मांझीले सूक्ष्म, लघु तथा मध्यम उद्यम (एमएसएमई) मध्ये करिब ३८ प्रतिशतको नेतृत्व महिलाहरूले गरिरहेको बताए। उनले महिला उद्यमीहरूलाई सहयोग पुर्याउन मन्त्रालयका विभिन्न योजनाहरूको महत्त्वमाथि जोड दिए।
बजारका अवसर विस्तार गर्न, एमएसएमई क्षेत्रको समग्र संरचना सुदृढ बनाउन तथा टी-रेडीएसमार्फत समयमै भुक्तानी सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य र एमएसएमई विकास ऐन, २०२६ मा गरिएका संशोधनहरू महत्त्वपूर्ण कदम रहेको उनले बताए।
सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार, मन्त्रालयले इन्डिया एसएमई फोरमसँगको सहकार्यमा १९ नोभेम्बर, २०२६ मा महिला उद्यमशीलता दिवस मनाएको थियो। कार्यक्रममा नीतिनिर्माता, उद्योग क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, वित्तीय संस्था, विकास साझेदार तथा महिला उद्यमीहरू एकत्रित भई महिलाको नेतृत्वमा सञ्चालित उद्यमहरूका लागि अनुकूल वातावरण सुदृढ बनाउने विषयमा छलफल गरेका थिए।
यी छलफलको उद्देश्य समावेशी आर्थिक विकास र विकसित भारत २०४७ को परिकल्पनालाई अघि बढाउन महिला उद्यमीहरूलाई प्रमुख शक्तिका रूपमा स्थापित गर्नु रहेको मन्त्रालयले जनाएको छ।
कार्यक्रममा केन्द्रिय एमएसएमईमन्त्री जीतनराम मांझी प्रमुख अतिथि तथा एमएसएमई एवं श्रम तथा रोजगार राज्यमन्त्री शोभा करन्दलाजे विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
यस अवसरमा राजस्थान र हिमाचल प्रदेशका पूर्व राज्यपाल एवं इन्डिया एसएमई फोरमका मुख्य संरक्षक कलराज मिश्र, एमएसएमई मन्त्रालयका सचिव भरत खेरा, मन्त्रालयका वरिष्ठ अधिकारीहरू, उद्योग क्षेत्रका प्रतिनिधिहरू, महिला उद्यमी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।