
मुम्बई, २० नोभेम्बर (हि.स.)। अभिनेता शक्ति कपूर आफ्नी छोरी श्रद्धा कपूरको आगामी चलचित्र ‘ईठा’ लाई लिएर निकै उत्साहित छन्। उनले चलचित्रमा श्रद्धाले गरेको मेहनत र समर्पणको खुलेर प्रशंसा गरेका छन्।
शक्ति कपूरका अनुसार, श्रद्धाले आफ्नो भूमिकालाई वास्तविक स्वरूप दिन कुनै कसर बाँकी राखेकी छैनन् र पूर्ण लगनका साथ काम गरेकी छन्। चलचित्रको तयारीका क्रममा निरन्तर अभ्यास र मेहनत गर्दा श्रद्धाका खुट्टासमेत सुन्निने गरेको उनले बताए। त्यसका बावजुद पनि उनले आफ्नो कामप्रतिको समर्पण कायम राखिन्।
शक्ति कपूरले जीवनमा समस्या र तनाउ आइरहने बताउँदै कठिन समयमा आफू भगवानसँग केवल ‘ईठा’ हेर्ने अवसर मिलोस् भनेर प्रार्थना गर्ने गरेको बताए। श्रद्धाको प्रशंसा गर्दै उनले छोरी आफ्ना लागि भगवानको स्वरूप भएको बताए। श्रद्धाले चलचित्रमा कम काम गरे पनि जुन परियोजनामा संलग्न हुन्छिन्, त्यसमा आफ्नो सम्पूर्ण मेहनत र समर्पण लगाउने गरेको उनको भनाइ छ। चलचित्रमा श्रद्धाले मराठी लोककलाकारको भूमिका निर्वाह गरेकी छन्। यस भूमिकाका लागि छोरीले गरेको मेहनतप्रति शक्ति कपूरले गर्व व्यक्त गरेका छन्।
म्याडक फिल्म्स र कठपुतली क्रिएसन्सको ब्यानरमा निर्मित ‘ईठा’ लाई लिएर दर्शकमाझ उत्सुकता बढिरहेको छ। चलचित्रको झलकलाई राम्रो प्रतिक्रिया प्राप्त भएको छ भने यसको पहिलो गीत ‘जी जी रे जी’ पनि चर्चामा छ। लावणीको परम्परागत कला र ऊर्जालाई प्रस्तुत गरिएको यस गीतले चलचित्रप्रति दर्शकको चासो थप बढाएको छ। लक्ष्मण उतेकरको निर्देशनमा बनेको यो चलचित्र ४ दिसम्बर, २०२६ मा सिनेमा घरमा प्रदर्शन हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल