
मुम्बई, १८ नोभेम्बर (हि.स.)। बलिउड अभिनेत्री तब्बू चाँडै आफ्नो पहिलो हिन्दी ओरिजिनल स्ट्रीमिङ सीरीजमा देखिने भएकी छन्। उनी वाईआरएफ इन्टरटेनमेन्टको आगामी नेटफ्लिक्स शृङ्खला ‘टनल मेन’ मा आबद्ध भएकी छन्।
यो एक काल्पनिक नाट्य शृङ्खला हो, जुन २०२३ को नोभेम्बरमा उत्तराखण्डको सिलक्यारा सुरुङमा फसेका श्रमिकहरूलाई सुरक्षित उद्धार गर्न सञ्चालन गरिएको चुनौतीपूर्ण अभियानबाट प्रेरित छ। यस शृङ्खलामा उक्त घटनाका क्रममा देखिएको साहस, धैर्य, सामूहिक प्रयास र आशाको भावनालाई कथाका रूपमा प्रस्तुत गरिनेछ।
‘टनल मेन’ को निर्देशन शिव रवैलले गरिरहेका छन्। उनले यसअघि वास्तविक घटनामा आधारित शृङ्खला ‘द रेलवे मेन’ मार्फत दर्शकसमक्ष प्रभावशाली कथा प्रस्तुत गरिसकेका छन्।
तीन दशकभन्दा लामो अभिनय यात्रामा तब्बूले आफ्नो छुट्टै पहिचान बनाएकी छन्। ‘माचिस’ र ‘चाँदनी बार’ मा उत्कृष्ट अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी छन्। यसबाहेक ‘मकबूल’, ‘हैदर’ र ‘अन्धाधुन’ जस्ता चलचित्रमा पनि उनको अभिनयले प्रशंसा पाएको छ। अन्तरराष्ट्रिय स्तरमा उनले ‘द नेमसेक’, ‘लाइफ अफ पाइ’ तथा ‘ड्युनः प्रोफेसी’ जस्ता चलचित्र र शृङ्खलामा काम गरिसकेकी छन्।
यो परियोजना वाईआरएफ इन्टरटेनमेन्टमा हेड अफ कन्टेन्टका रूपमा आबद्ध भएका सौगता मुखर्जीको पहिलो शृङ्खला पनि हो। कम्पनीका प्रमुख कार्यकारी अधिकारी अक्षय विधानीको नेतृत्वमा तयार भइरहेको यस शृङ्खलामार्फत दर्शकमाझ अर्को प्रेरणादायी कथा प्रस्तुत गर्ने तयारी गरिएको छ।
मुखर्जी यसअघि ‘स्क्याम १९९२’, ‘महारानी’, ‘तब्बर’ र ‘रकेट ब्वाइज’ जस्ता चर्चित शृङ्खलासँग आबद्ध थिए।
‘टनल मेन’ नेटफ्लिक्समा प्रसारण हुनेछ। यससँगै वाईआरएफ इन्टरटेनमेन्ट र नेटफ्लिक्सबीचको सहकार्यले पनि निरन्तरता पाउनेछ। यी दुईबीचको साझेदारीको शुरुवात २०२३ मा ‘द रोमान्टिक्स’ शृङ्खलाबाट भएको थियो।
हिन्दुस्थान समाचार / बिशाल