घैयाबारी फुटबल टुर्नामेन्ट: चाँद एफसी सेमिफाइनलमा पुग्न सफल
घैयाबारी फुटबल टुर्नामेन्ट


खरसाङ, 16 जनवरी (हि.स.)। चाँद एफसी घैयाबारीमा जारी नगद राशि फुटबल टुर्नामेन्टको सेमिफाइनलमा पुग्न सफल बनेको छ। घैयाबारी स्पोर्ट्स वेलफेयर एसोसिएशनको तत्वावधानमा स्थानीय घैयाबारी नेताजी हाई स्कूलको खेल मैदानमा आयोजित फुटबल टुर्नामेन्टको पहिलो क्वार्टर फाइनल खेल शुक्रबार चाँद एफसी र फ्रेण्ड्स क्लब नयाँ बस्तीमाझ सम्पन्न भयो।

आज खेलिएको पहिलो क्वार्टर फाइनल खेलको पहिलो हाफमा चाँद एफसीको तर्फबाट जर्सी नम्बर 9 आर्यन शर्माले गोल गरेर आफ्नो दललाई बलियो स्थितिमा पुऱ्याए। पहिलो हाफको खेल 1-0 को अन्तरमा समाप्त भयो। दोस्रो हाफको खेलमा पनि चाँद एफसीले गोल गर्ने प्रयास जारी राखे, तर प्रतिद्वन्दी दलका गोल किपर रमेन रोयले नेट हल्लिन दिएनन्। अर्कातिर, फ्रेण्ड्स क्लबले पनि पाएका केही अवसरहरुलाई गोलमा परिणत गर्न विफल बने।

निर्धारित समयसम्मको खेल 1-0 को अन्तरमा समाप्त भयो। यसका साथै चाँद एफसी यस टुर्नामेन्टको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ। यस खेलमा निर्णायक गोल गर्ने खेलाडी आर्यन शर्मालाई म्यान अफ् द म्याच घोषित गरियो। उनलाई उषाकिरण मल्टिपर्पोस वुमेन्स को-ओपरेटिभ सोसाइटीकी को-अर्डिनेटर सीता राईको बाहुलीबाट पुरस्कृत गरियो।

भोलि, शनिवार सिविटार एफसी र मिक्स अफ् बोइज खरसाङ दोस्रो क्वार्टर फाइनल खेल सम्पन्न हुनेछ। दोस्रो संस्करणको‌ यस फुटबल टुर्नामेन्टमा जम्मा 16 वटा टिमहरुले‌ सहभागिता जनाएका छन्। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 1 फरवरीको दिन हुनेछ। यस टुर्नामेन्टको विजेतालाई ट्रफीसहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande