
गान्तोक, 18 जनवरी (हि.स.)। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले २०२४ मा एडहकका रूपमा नियुक्त स्वास्थ्य विभागका कर्मचारीहरू, विशेषगरी अग्रपंक्तिका स्वास्थ्यकर्मीहरू, ले पछिल्ला पाँच महिनादेखि तलब नपाएका कारण गम्भीर समस्या झेल्न परिरहेको सीएपीले दाबी गरेको छ। यी कर्मचारीहरूले सबै आवश्यक योग्यता पूरा गरी पूर्ण निष्ठा र जिम्मेवारीका साथ काम गरिरहेका भए तापनि उनीहरूले अहिलेसम्म तलब नपाएको सीएपीले बताएको छ।
सीएपी प्रवक्ता अल्बर्ट गुरुङले आज जारी प्रेस विज्ञप्तिमा यस्तो दाबी गरेका छन्। उनले पाँच महिनासम्म तलब नदिएको सम्बन्धमा सरकारतर्फबाट कुनै आधिकारिक स्पष्टीकरणसमेत नदिइएको बताएका छन्। सरकारले २०२५ भित्र बक्यौता तलब उपलब्ध गराउने विश्वासमा कर्मचारीहरुले महिनौँसम्म धैर्यपूर्वक पर्खिए र मौन बसे, तर तलब कहिले भुक्तानी हुन्छ भन्नेबारे कुनै सूचना, आश्वासन वा समयसीमा सार्वजनिक गरिएको छैन भनी उनले बताएका छन्। उनले प्रभावित धेरै कर्मचारीहरू आर्थिक रूपमा कमजोर पृष्ठभूमिका रहेकाले तलब नपाएपछि उनीहरू ऋण लिन बाध्य हुनुपरेको बताएका छन्। निरन्तर ढिलाइले उनीहरूलाई गहिरो आर्थिक संकटमा धकेलेको र यसले गम्भीर मानसिक तनाव तथा भावनात्मक पीडा सिर्जना गरेको उनले उल्लेख गरेका छन्।
प्रवक्ता गुरुङले स्वास्थ्यकर्मीहरू कुनै पनि सार्वजनिक स्वास्थ्य प्रणालीको मेरुदण्ड हुन्, तर एसकेएम सरकारमा जनताको निःस्वार्थ सेवा गर्ने कर्मचारीहरू उपेक्षित भइरहेको उनले आरोप लगाएका छन्। सीएपी सिक्किमले सरकारको निरन्तर निष्क्रियताको कडा निन्दा गर्दै सबै बक्यौता तलब तत्काल भुक्तानी गर्न, साथै भविष्यमा यस्ता ढिलाई दोहोरिन नदिन स्पष्ट र पारदर्शी नीति सार्वजनिक गर्न माग गरेको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल