
बाग्राकोट, 18 जनवरी (हि.स.)। पश्चिम डुवर्सको बाग्राकोटमा आइतवार एक भव्य समारोहबीच वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ालाई १५औँ बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरियो। सुपरिचित साहित्यकार बद्रीनारायण प्रधानको नाममा गठित बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानले यो पुरस्कार अर्पण गरेको हो। पुरस्कारमा अङ्ग-वस्त्र, सम्मान-पत्र र नगद राशि २१ हजार रुपियाँ सम्मिलित रहेको छ।
वरिष्ठ समालोचक एवं बद्रीनारायण प्रधान स्मृति पुरस्कार चयन समितिका संयोजक डा. मोहन पी. दाहालको अध्यक्षतामा आयोजित भव्य समारोहमा मुख्य अतिथिका रूपमा वरिष्ठ साहित्यकार तथा दार्जीलिङ हिल युनिभर्सिटीकी कुलसचिव (रेजिस्ट्रार) डा. सुजाता रानी राई उपस्थित थिइन्। दुवैका बाहुलीबाट खतिवड़ालाई अङ्ग-वस्त्र र सम्मान-पत्रद्वारा पुरस्कृत गरियो भने प्रतिष्ठानका अध्यक्ष अशोक रोकाले नगद राशि अर्पण गरे।
यस अवसरमा वरिष्ठ कवि तथा उत्तर बङ्गाल विश्वविद्यालय, नेपाली विभागका अध्यक्ष डा. सञ्जय बान्तवा, वरिष्ठ साहित्यकार युवराज काफ्ले, वरिष्ठ अनुवादक अनमोल प्रसाद, वरिष्ठ साहित्यकार एम.एन. दाहाल, वरिष्ठ लेखक गोपालसिंह विश्व, डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष अबीर खालिङ आदि मञ्चमा अतिथिका रूपमा आसीन थिए। प्रसिद्ध गायक इन्द्रजीत मिजारको उपस्थितिले कार्यक्रममा आकर्षण थपेको थियो।
पुरस्कार ग्रहण गरेपछि कवि ज्ञानेन्द्र खतिवड़ाले बद्रीनारायण प्रधान स्मृति पुरस्कारले आफ्नो सम्मानपूर्ण गरिमा बनाएर राखेको जिकिर गरे। बद्रीनारायण प्रधानसँगका विभिन्न सन्दर्भहरूको उल्लेख गर्दै उनको नामसँग जोड़िएको पुरस्कार प्राप्त हुँदा आफूलाई अत्यन्त हर्ष लागेको उनले बताए।
साहित्य-कलामा ‘विचार’-लाई गुदी वा बीजको रूपमा व्याख्या गर्दै तर त्यसले आफ्नो ठाउँमा नै आफूलाई विशेषीकृत गरेर राख्नुपर्ने आवश्यकतामाथि उनले जोड़ दिए। खतिवड़ामाथि मूल्याङ्कनपरक वक्तव्य राख्दै वरिष्ठ कवि डा. सञ्जय बान्तवाले उनलाई सत्तरको दशकको उत्तर प्रयोगकालको पृष्ठभूमिबाट आएका कवि बताए। उनले भने, ज्ञानेन्द्र खतिवड़ाका कवितामा प्रगतिवादी र समकालीन धारा एकौचोटि समायोजित छन्। थोरै कविहरूमा पाइने काव्यात्मक संश्लेषणको विशेषता उनका कविताहरूमा पाइन्छन्। उनले खतिवड़ाको काव्यमा समकालीन चेतना प्रखर रूपमा आएको उल्लेख गरे। वरिष्ठ अनुवादक अनमोल प्रसादले नेपाली भाषाको पठनपाठनमा आएको ह्रासप्रति चिन्ता जताए भने नवपुस्तालाई कला-साहित्य र संस्कृतिप्रति आकर्षित गराउन डिजिटल प्रारूपमा पनि काम गर्नुपर्ने आवश्यकतामाथि बल दिए।
मुख्य अतिथि डा. सुजाता रानी राईले डुवर्सको बोलीमा भाषिक मोहकता रहेको उल्लेख गरिन् भने आफ्ना अध्ययन र खोजका क्रममा भेटिएका ऐतिहासिक सन्दर्भ, अस्मिता-रक्षाका दसी र इतिहासमूलक जानकारीहरू पनि साझा गरिन्। खासगरी, डा. इन्द्रमान राईका पिता बुद्धिमान राईले डुवर्सको लुकसान र नगरकट्टा क्षेत्रमा सन् १०१५-१६ तिरै ठूल्ठूला सड़क तथा रेलवेका पुल बनाएको र त्यसमा उनको नाम ठेकदार बुद्धिमान सरदार भनेर अङ्कित गरिएको बताउँदै तर त्यस्ता स्तम्भहरूबाट अहिले यस्ता ऐतिहासिक दसीहरू मेट्ने प्रयास भइरहेकोमा डुवर्सवासीलाई सतर्क गराइन्।
उनले भनिन्, डुवर्सवासीले पूर्वजहरूका दस्तावेजलाई सङ्ग्रह गरेर भावी पिँढ़ीका लागि राखिदिएनन् भने हामी अरूका अघि सधैं सानो भएर बस्नुपर्नेछ। हाम्रा दसीहरू मेटिनु भनेको चिन्ताको विषय हो। यस्ता प्रमाणहरू मास्न दिनुहुँदैन।
कार्यक्रमका अध्यक्ष डा. मोहन पी. दाहालले माध्यमिक परीक्षा लेख्दादेखि नै बद्रीनारायण प्रधानलाई चिन्न पाएको र पछि उनका कृतिहरू पढ़्दै जाँदा उनको प्रतिभा पनि थाहा हुँदै गएको बताए। जति टाढ़ा भए पनि डुवर्ससँग आफ्नो आत्मीय निकटता रहेको बताउँदै उनले भने, बद्रीनारायण प्रधान स्मृति पुरस्कार सङ्कुचित विचार र सङ्कुचित ठाउँबाट माथि उठेर सर्वभारतीय स्तरमा प्रदान गरिँदै आएको छ।
बद्रीनारायण प्रधानमाथि आफ्नो मूल्याङ्कनपरक मन्तव्य राख्दै वरिष्ठ समालोचक जय क्याक्टसले प्रधानलाई प्रगतिवादी साहित्यकारका रूपमा मात्र खुम्च्याउन नहुने बताए। बद्रीनारायण प्रधान मासीसम्म भिजेका मार्क्सवादी थिए भन्ने विचार राख्दै क्याक्टसले भने, नेपाली साहित्यमा थोरै मात्रामा हुर्किएको तुलनात्मक अध्ययनको प्रवृत्तिलाई बद्रीनारायण प्रधानले दह्रोगरी पक्रिएको पाइन्छ। उनका लेख, निबन्ध र समालोचनाहरू हेर्दा प्रधानलाई एक अब्बल समालोचकका रूपमा उभ्याउन सकिन्छ। बद्रीनारायण प्रधान ‘वामपन्थ’ भन्दा माथि रहेको उनको भनाई थियो।
कार्यक्रममा स्वागत वक्तव्य राख्दै बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले प्रतिष्ठानले गरेका कामहरूमाथि प्रकाश पारे। प्रसिद्ध गायक इन्द्रजीत मिजारले दुईवटा गीत गाएर कार्यक्रमको रौनक बढ़ाए। यस अवसरमा अबीर खालिङले कविता र कालूसिंह रनपहेंलीले युग्मक सुनाए। अजय खड्काले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अशोक रोकाले धन्यवाद ज्ञापन गरेका थिए। यस अवसरमा सिक्किम, दार्जीलिङ, कालेबुङ, खरसाङ, सिलगढ़ी, डुवर्स, गोरुबथानलगायतका क्षेत्रबाट सुपरिचित साहित्यकार, बुद्धिजीवी, समाजसेवी, युवा लेखक एवं सर्जकहरूको बाक्लो र गरिमामयी उपस्थिति रहेको थियो।
प्रसिद्ध गायक प्रशान्त तामाङको निधनमा एक मिनटको मौन धारण गरेर कार्यक्रमको थालनी गरिएको थियो।
---------------
हिन्दुस्थान समाचार / बिशाल