
खेलकुद अनुशासन, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती तथा राष्ट्रिय गौरव निर्माण गर्ने सशक्त माध्यम: मुख्यमन्त्री
पाकिम, 18 जनवरी (हि.स.)। पहिलो रिनाक सिक्किम प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनसिप २०२६ को उद्घाटनपछि मुख्यमन्त्री प्रेमसिंह तामाङ आज रिनाक निर्वाचन क्षेत्र अन्तर्गत रोड़ाथाङ, तितिरेबोटे ताजामा आयोजित फ्लाइङ फेस्टिभल तथा च्याम्पियनसिप कार्यक्रममा सहभागी बने। उक्त कार्यक्रम रिनाक पर्यटन विकास समाजले पर्यटन तथा नागरिक उड्डयन विभागको सहकार्यमा आयोजना गरेको हो।
कार्यक्रममा खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत, कृषि विभाग मन्त्री पुरण गुरुङ, महिला, बालबालिका, विधायक पामिन लेप्चा, विधायक एलबी दास, मुख्यमन्त्रीका सल्लाहकार बिष्णु कुमार खतिवडा लगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उक्त कार्यक्रमलाई क्षेत्रका लागि ऐतिहासिक उपलब्धि बताउँदै सिक्किममा प्याराग्लाइडिङ पर्यटनको बढ्दो सम्भावनालाई उजागर गरे। उनले कार्यक्रम आयोजक संस्थाको प्रयासको प्रशंसा गर्दै क्षेत्रको विकास र पर्यटन प्रवर्द्धन गर्ने संस्थाको उद्देश्य पूरा होस् भनी कामना व्यक्त गरे।
खेलकुदको महत्त्वबारे बोल्दै मुख्यमन्त्रीले खेलकुद केवल मनोरञ्जनको माध्यम मात्र नभई अनुशासन, नेतृत्व क्षमता, शारीरिक तन्दुरुस्ती तथा राष्ट्रिय गौरव निर्माण गर्ने सशक्त माध्यम रहेको उल्लेख गरे। उनले सिक्किम सरकारले खेलकुद पूर्वाधार सुदृढीकरण, युवा प्रतिभाको पहिचान, खेलाडीहरूको समर्थन तथा उच्चस्तरीय प्रतिस्पर्धाका लागि तयारीमा निरन्तर काम गरिरहेको जानकारी दिए। ग्रामीणदेखि शहरी क्षेत्रसम्म खेलमैदान, बहुउद्देश्यीय रंगशाला र प्रशिक्षण केन्द्र विकास सरकारको प्राथमिकतामा रहेको उनले बताए।
युवाहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उद्यमशीलतालाई आत्मनिर्भरता र आर्थिक समृद्धिको महत्वपूर्ण मार्गको रूपमा लिन आग्रह गरे। सरकारले अवसर सिर्जना गर्ने भए पनि ती अवसरको सदुपयोग मेहनत, समर्पण र प्रतिबद्धताका साथ गर्नु युवाको दायित्व रहेको बताउँदै यसले सिक्किमलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पुर्याउने उनले उल्लेख गरे।
मुख्यमन्त्रीले राज्य सरकारी कर्मचारीका लागि लागू गरिएको सब्बाटिकल लिभ योजनाबारे पनि जानकारी गराए, जसअन्तर्गत व्यक्तिगत विकास, अध्ययन वा उद्यमशीलताका लागि अधिकतम तीन वर्षसम्म ५० प्रतिशत आधारभूत तलबसहित अवकाश लिन सकिने व्यवस्था छ। यस योजनाले युवाहरूलाई नयाँ सोच र अवसर खोज्न प्रेरित गर्ने उनले बताए।
मुख्यमन्त्रीले रोजगारी पहलको सन्दर्भमा “एक परिवार, एक उद्यमी” पहल र मुख्यमन्त्री स्वरोजगार योजनाको चर्चा गर्दै यी योजनामार्फत बेरोजगार युवालाई आर्थिक तथा संस्थागत सहयोग प्रदान गरिँदै आएको बताए। यी योजनाबाट धेरै युवाहरू सफल उद्यमी बनेकोमा सन्तोष व्यक्त गर्दै उनले कार्यसंस्कृति थप सुदृढ़ गर्नुपर्ने आवश्यकता औँल्याए।
पर्यटन विकासबारे बोल्दै मुख्यमन्त्रीले स्थानीय समुदायलाई होमस्टे र इको-पर्यटन जस्ता नवीन अवधारणासहित अघि बढ्न आग्रह गरे।
कार्यक्रममा प्याराग्लाइडिङ एक्युरेसी च्याम्पियनसिप २०२६ का विजेताहरूलाई ट्रफी तथा प्रमाणपत्र वितरण गरियो। सोलो च्याम्पियनसिपमा पहिलो सोनाम लदाखे (लद्दाख), दोस्रो युवराज सुनार (नेपाल) र तेस्रो रोशन बस्नेत (नेपाल) भए। यसरी नै टिम च्याम्पियनसिपमा पहिलो टिम नेपाल, दोस्रो बरकला टिम र तेस्रो टिम लाचुङ भए।
---------------
हिन्दुस्थान समाचार / बिशाल