
गान्तोक, 18 जनवरी (हि.स.)। नेपाली साहित्य परिषद्को चुनाउले दह्रिलो प्रजातान्त्रिक बाटो अलम्बन गर्ने छाँट देखाएको छ। आउँदो कार्यकारी समितिको चुनाउमा नेपाली साहित्य भाषा संस्कृतिको निम्ति के गर्ने भन्ने मुद्दा सहित स्वेच्छाले चुनावी मैदानमा उत्रने घोषणा साहित्यकार टीबी चन्द्र सुब्बाले गरेसितै चुनाउमा मुद्दा प्रमुख हुने देखिएको छ।
साहित्यकार सुब्बाको पुस्तक विश्वमा नेपाली जातीय इतिहासः संस्कृति र परम्परा पुस्तकको किताब वार्ताको क्रममा आफ्नो सम्बोधन राख्दै उनले पाँचवटा महत्वपूर्म मुद्दासितै चुनाउमा अध्यक्ष पदमा लड्ने घोषणा गरे। उनको मन्तव्यसितै साहित्यिक र परिषद्का सदस्यहरूमा हलचल शुरु भएको छ। जम्मा 420 जना मात्र सदस्य रहेको परिषद्को कार्यकारी समिति भङ्ग गरेर चुनाउ समिति गठन भइसकेको छ।
आफ्नो सम्बोधन राख्दै सुब्बाले भने, नेपाली साहित्य परिषद्को अध्यक्षको पदमा म चुनाउमा उठेर तीन वर्षसम्म एकैपल्टको कार्यकालमा सेवा गर्ने विचार गरेको छु। उनले अध्यक्षको पदमा आफू भारतमै अहिलेसम्म नगरिएको पाँचवटा अभुतपूर्व कार्यक्रमको मुद्दा लिएर चुनावी मैदानमा ओर्लने बताए। उनले चुनाउको निम्ति तोकिएका मुद्दाहरूको सार्वजनिक गर्ने कार्यक्रम मनोनयन पत्र बुझाइसकेपछि मात्र गर्ने बताए। यद्यपि उनले भने, 3 वर्षको कार्यकालमा कुनै सदस्यको हात खाली हुने छैन अनि राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरको अहिलेसम्म नभएको कार्यक्रम गर्नेछौँ। उनले भानु जयन्ती, भाषा दिवस र पहिलो वैशाखी जस्ता क्यालेन्डरमा भएका कार्यक्रमहरू बाहेक भारतीय नेपाली साहित्यमा नभएको कार्यक्रमहरू गर्न परिषद्को अध्यक्ष पदको चुनाउमा आफु लड्ने निर्णय गरेको बताए। यसको निम्ति उनलाई समर्थन गर्न चाहनेहरूले त्यसै समर्थन नगरेर मुद्दा हातमा आएपछि हेरेर निर्णय गर्नुपर्ने तथा यो कार्यक्रमहरू गर्नको निम्ति आफुलाई पनि निर्देशन र समर्थन प्राप्त भइरहेको हुनाले सबैको समर्थनमा महत्वपूर्ण कार्य होस् भन्ने आफ्नो चाहना रहेको बताए। उल्लेखनीय छ, साहित्यकार सुब्बा नेपाली साहित्य परिषद्मा उपाध्यक्षको पदमा रहेर सेवा पुऱ्याइसकेको छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल