
नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज केरलका महान समाज सुधारक मन्नथु पद्मनाभनको 48औं जयन्तीको अवसरमा उनको पुण्य स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले मन्नथु पद्मनाभनका आदर्शहरूले न्यायपूर्ण, करुणामय र सद्भावपूर्ण समाजको सन्देश दिने बताएका छन्। उनका मूल्य–मान्यताहरूले सधैं सबैलाई मार्गदर्शन गरिरहने प्रधानमन्त्रीले उल्लेख गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले ‘एक्स’ मा लेखेका छन्, “मन्नथु पद्मनाभनको जयन्तीको अवसरमा आज हामी उनलाई गहिरो श्रद्धाका साथ स्मरण गरिरहेका छौं। उनको सम्पूर्ण जीवन समाज सेवामा समर्पित थियो। उनी एक दूरदर्शी व्यक्तित्व थिए। उनको विश्वास थियो कि साँचो प्रगति गरिमा, समानता र सामाजिक सुधारमा निहित हुन्छ। स्वास्थ्य, शिक्षा र महिला सशक्तिकरणजस्ता क्षेत्रमा उनका प्रयासहरू प्रेरणादायी छन्। उनका आदर्शहरूले न्यायपूर्ण, करुणामय र सद्भावपूर्ण समाजको सन्देश दिन्छन्।”
उल्लेखनीय छ, 2 जनवरी, १८७८ मा जन्मिएका मन्नथु पद्मनाभन एक महान समाज सुधारक, स्वतन्त्रता सेनानी तथा नायर सर्भिस सोसाइटीका संस्थापक थिए। नायर समुदायको उत्थान र केरलमा सामाजिक समानता ल्याउन उनले गरेको योगदानका लागि उनी परिचित छन्। उनलाई ‘भारत केसरी’ उपाधिबाट सम्मानित गरिएको थियो। सरदार केएम पाणिक्करले उनलाई “केरलका मदन मोहन मालवीय” भनेर सम्बोधन गर्थे। सन् १९६६ मा उनलाई पद्म भूषण पुरस्कार प्रदान गरिएको थियो।
निम्न जातिका मानिसहरूलाई मन्दिर प्रवेशको अधिकार दिलाउन उनले वैकोम सत्याग्रह (१९२४) र गुरुवयुर सत्याग्रह (१९३१) मा सक्रिय भूमिका निर्वाह गरेका थिए। यसका साथै, केरलमा सयौं विद्यालय, कलेज र अस्पताल स्थापना गर्न उनको महत्वपूर्ण योगदान रहेको छ। सन् १९४९ मा उनी त्रावणकोर विधानसभाका सदस्य पनि बनेका थिए।
हिन्दुस्थान समाचार / भवानी थामी