
नयाँ दिल्ली, 02 जनवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्लीमा आज अत्यधिक चिसो महसुस गरियो। अर्कातिर, वायु प्रदूषण पनि खतरनाक स्तरमा पुगेको छ। बिहान राजधानीका धेरै स्थानमा बाक्लो कुहिरो छाएको थियो, जसका कारण केही क्षेत्रमा दृश्यता अत्यन्तै कम रह्यो। यस्ता चुनौतीपूर्ण परिस्थितिका बावजुद इन्डिया गेटमा गणतन्त्र दिवसको रिहर्सल जारी रह्यो।
भारतीय मौसम विज्ञान विभागका अनुसार, आज बिहान दिल्लीमा तापक्रम करिब ११ डिग्री सेल्सियस मापन गरिएको थियो। बिहानको प्रारम्भिक समयमा अत्यन्तै बाक्लो कुहिरो देखिएको थियो। विभागले दिनभरि कुहिरोको तह कायम रहने जानकारी दिएको छ।
भोलिदेखि मौसममा केही सुधार आउने सम्भावना रहेको छ। दिल्लीको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ९ देखि ११ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको छ। न्यूनतम तापक्रम सामान्यभन्दा २ देखि ४ डिग्री सेल्सियस माथि रहने सम्भावना छ भने अधिकतम तापक्रम सामान्यभन्दा उल्लेखनीय रूपमा कम रहने पूर्वानुमान गरिएको छ।
नयाँ वर्षको दोस्रो दिन पनि दिल्लीको वायु गुणस्तर ‘धेरै खराब’ श्रेणीमै रहेको छ। केन्द्रिय प्रदूषण नियन्त्रण बोर्डका तथ्यांकअनुसार, बिहान करिब ८ बजी समग्र वायु गुणस्तर सूचकांक ३४८ मापन गरिएको थियो, जुन ‘धेरै खराब’ देखि ‘गम्भीर’ श्रेणीको बीचमा पर्दछ।
धेरै वायु गुणस्तर निगरानी केन्द्रहरूले प्रदूषणको खतरनाक स्तर देखाएका छन्। आनन्द विहारमा एक्युआई ३४८, आरकेपुरममा ३१९, रोहिणीमा ३१५, मुन्डकामा ३२४, चाँदनी चौकमा ३४०, आइटीओमा २९२, बवाना क्षेत्रमा २२७ र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा २१९ एक्युआई रेकर्ड गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी