
ढाका, २० जनवरी (हि.स.)। बंगलादेशको निजी विश्वविद्यालय ‘युनिभर्सिटी अफ एसिया प्यासिफिक’ (यूएपी) ले ईशनिन्दा गरेको तथा अवामी लिग समर्थक भएको आरोप लगाउँदै दुई शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ। बर्खास्त गरिएका शिक्षकहरू असिस्टेन्ट प्रोफेसर लाइका बशीर र एसोसिएट प्रोफेसर डा. एएसएम मोहसिन हुन्। विश्वविद्यालयका प्रवक्ता सादिक हसन पलाशले यसको पुष्टि गर्दै दुवैको सेवा शनिबारदेखि समाप्त गरिएको जानकारी दिएका छन्।
ढाका ट्रिब्यूनको रिपोर्टअनुसार, लाइका बशीर बेसिक साइन्सेज तथा ह्युम्यानिटिज विभागमा कार्यरत थिइन् भने डा. एएसएम मोहसिन सोही विभागका प्रमुख थिए। दुवै शिक्षकले आफूहरूमाथि लगाइएका आरोपहरू अस्वीकार गरेका छन्। उनीहरूको दाबीअनुसार विश्वविद्यालय प्रशासनभित्रको एक प्रभावशाली समूहले योजनाबद्ध रूपमा उनीहरूविरुद्ध कारबाही गरेको हो।
केही विद्यार्थी तथा अन्य व्यक्तिहरूले एउटा आन्दोलनको आडमा दुवै शिक्षकलाई हटाइएको आरोप लगाएका छन्। यस घटनाको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी