
ढाका, १७ जनवरी (हि.स.)। बंगलादेशको गाजीपुर जिल्लाको कालिगञ्ज क्षेत्रमा साम्प्रदायिक उन्मादको अर्को भयावह घटना सार्वजनिक भएको छ, जहाँ एक हिन्दु मिठाई व्यवसायीलाई कुटपिट गरी हत्या गरिएको छ। मृतकको पहिचान ५५ वर्षीय लिटन चन्द्र घोषका रूपमा भएको छ, जसलाई स्थानीय रूपमा काली मयरा भनेर चिनिन्थ्यो। उनी कालिगञ्ज नगरपालिका नजिकको बडनगर रोडमा अवस्थित बैसाखी स्वीट एन्ड होटलका मालिक थिए।
प्रत्यक्षदर्शी र मृतकका परिवारजनका अनुसार, शनिबार बिहान लगभग ११ बजी दोकानमा काम गर्ने १७ वर्षीय हिन्दु किशोर कर्मचारी अनन्त दाससँग झगडा शुरु भएको थियो। आरोप अनुसार, मासूम मिया (२८) नामक युवक दोकानमा आएर त्यहाँ राखिएका देवी–देवताका तस्वीरप्रति आपत्ति जनाए। उनले यस्तो तस्वीर राख्दा मिठाई र अन्य खाद्य पदार्थ हराम हुने र मुस्लिम देशमा यसरी व्यापार गर्न नपाइने टिप्पणी गरेका थिए। जब कर्मचारी अनन्त दासले यसमा विरोध जनाए, तब मासूम मियाले उनलाई गाली–गलौज गर्दै धार्मिक आधारमा अपमान गरे र कुटपिट शुरु गरे। होहल्ला सुनेपछि मासूमका पिता स्वपन मिया (५५) र आमा माजेदा खातुन (४५) पनि घटनास्थलमा पुगे र तीनै जनाले मिलेर कर्मचारीमाथि कुटपिट गर्न थाले।
स्थिति शान्त पार्न र आफ्ना कर्मचारीलाई बचाउन दोकान मालिक लिटन चन्द्र घोष अगाडि आएपछि उनीहरूले उनलाई पनि निशाना बनाए। प्रत्यक्षदर्शीका अनुसार, उनीहरूले बेल्चाले लिटन घोषको टाउकोमा प्रहार गरे, जसका कारण उनी घटनास्थलमै ढले। गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भयो।
घटनापछि स्थानीय मानिसहरूले तीनै जना आरोपीलाई समातेर पुलिसको जिम्मा लगाएका थिए। पक्राउ पर्नेहरूमा मोहम्मद स्वपन मिया, माजेदा खातुन र मासूम मिया रहेका छन्। उनीहरू कालिगञ्ज उपजिल्लाको बालीगाँव क्षेत्रका बासिन्दा बताइएको छ।
यस निर्मम हत्याकाण्डपछि सम्पूर्ण क्षेत्रमा शोक र आक्रोशको वातावरण छ। स्थानीय हिन्दु समुदायमा गहिरो असुरक्षा र भय फैलिएको छ। स्थानीयवासीहरूको भनाइ अनुसार, यो हमला आकस्मिक नभई पूर्वनियोजित थियो र लामो समयदेखि चलिरहेको साम्प्रदायिक द्वेषको परिणाम हो।
कालिगञ्ज थाना प्रमुख मोहम्मद जाकिर हुसैनका अनुसार, घटनापछि तीनै आरोपीलाई पुलिस हिरासतमा लिइएको छ। मृतकको शव बरामद गरी कानुनी प्रक्रिया शुरु गरिएको छ।
साम्प्रदायिक मुद्दा उठाउँदै सार्वजनिक रूपमा एक हिन्दु व्यवसायीको हत्या भएको यस घटनाले बंगलादेशमा अल्पसंख्यक समुदायको सुरक्षाबारे पुनः गम्भीर प्रश्न खडा गरेको छ। पीडित परिवार र स्थानीयवासीहरूको आरोप छ कि आरोपी परिवार कट्टरपन्थी विचारधारासँग जोडिएको छ र यसअघि पनि हिन्दु परिवारहरूसँग विवाद तथा उक्साहटका घटनामा संलग्न रहँदै आएको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी