
गान्तोक, 20 जनवरी (हि.स.)। सिक्किमका रैथाने भाषाहरूको विकास र संरक्षणमा गठित सिक्किम सरकारको शिक्षा विभाग अधिनस्थ सिक्किम बोर्ड अफ् इन्डिजिनियस ल्याङग्वेजेस (एसबीआइएल) ले सञ्चालन गर्ने भाषा अध्ययनको परिक्षा सम्पन्न भएको छ। डिस्टेन्स मोडमा गरिने अध्ययनको परिक्षामा राई, तामाङ, शेर्पा, गुरुङ, मंगर, नेवार र मुखिया भाषाको जम्मा 280 जना विद्यार्थीले नवौँ, दशौँ, एघारौँ र बाह्रौँ श्रेणीको परिक्षा बसेका थिए।
एसबीआइएलका प्रभारी तथा उपनिदेशक (भाषा) सुधा राईले दिएको जानकारी अनुसार, वर्ष 2019 देखि अहिलेसम्म लगभग 2 हजार विद्यार्थीले यी सात रैथाने भाषामा 12औँ श्रेणीसम्मको परिक्षा उत्तिर्ण गरिसकेका छन्। डिस्टेन्स मोडमा गरिने यो अध्ययनको निम्ति नवौँ श्रेणीमा सातैवटा भाषामा भर्ना लिइन सकिने छ। यद्यपि सीबीएससीको पाठ्यक्रममा रहेका राई, गुरुङ, तामाङ र शेर्पा भाषामा भने सीबीएससीको परिक्षा उत्तिर्ण गरिसकेकाहरूले एघारौँ श्रेणीमा भर्ना भएर अध्ययन गर्न सक्ने उपनिदेशक राईले बताइन्।
रैथाने भाषाहरूको जगेरा र विकासको निम्ति थालिएको यो प्रयासको सफल प्रतिफल आइरहेको बताउँदै उपनिदेशक राईले धेरैले यसबाट रोजगार र अध्ययनको अघिल्लो खुड्किलो उक्लन सक्ने अवसर प्राप्त गरिरहेको बताइन्। यसले रैथाने भाषामा पढ्न लेख्न र बोल्न सक्ने तथा यसको जगेरमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताइन्।
गान्तोकको पीएमश्री सर टासी नामग्याल सिनियर सेकेन्डरी स्कूलको प्रेक्षागृहमा सम्पन्न परिक्षामा सिक्किमका विभिन्न भागबाट रैथाने भाषा अध्ययनमा चासो राख्ने तथा उच्च शिक्षा समेत अध्ययन गरिरहेका विद्यार्थीहरू रहेका थिए। उनीहरूले आफूले यसरी आफ्नो समुदायको मौलिक भाषा सिक्नु र अध्ययन गर्न पाउनु खुसीको कुरा रहेको बताउँदै सम्बन्धित विभाग अनि सरकारको पहललाई सराहना गरेका छन्। परिक्षार्थीहरूको परिक्षा फल मार्च महिनासम्ममा सार्वजनिक गरिनेछ। यसैगरि नयाँ सत्रको निम्ति भर्ना पनि शुरू हुने बोर्डका अधिकारीले जानकारी दिएका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल