(अपडेट) मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
PS Tamang inaugurated school building


नाम्ची, 20 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज ७१औँ माघे सङ्क्रान्ति मेलामा सहभागी हुनुअघि जोरथाङस्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयको नव–निर्मित प्रेक्षागृहसहित १० कोठे विद्यालय भवनको विधिवत उद्घाटन गरे। यस अवसरमा शिक्षा मन्त्री राजु बस्नेत, शहरी विकास विभाग मन्त्री भोजराज राई, विधायक तथा प्रमुख संरक्षक मदन सिन्चुरी, विधायक एलएन शर्मा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

उल्लेखनीय छ, नव–उद्घाटित प्रेक्षागृहसहित १० कोठे विद्यालय भवन आधुनिक सुविधासहित निर्माण गरिएको छ, जसले शैक्षिक, सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधिहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ। ३०० जनासम्म अट्ने क्षमताको प्रेक्षागृहमा पीएस सिस्टम तथा पूर्ण रूपमा कार्यशील वातानुकूलित (एसी) युनिटहरू जडान गरिएको छ। यस पूर्वाधारमा आठवटा कक्षा कोठा, रसायनशास्त्र तथा जीवविज्ञानका प्रयोगात्मक कक्षाका लागि दुईवटा प्रयोगशाला, ग्रीन रुम तथा पर्याप्त सरसफाई सुविधाहरू पनि समावेश छन्।

उद्घाटन कार्यक्रममा विद्यालयकी प्रधानाध्यापिका निशा राईले विद्यालयको पूर्वाधार सुदृढीकरणका लागि निरन्तर सहयोग पुर्‍याएकोमा मुख्यमन्त्री, शिक्षा मन्त्री तथा विधायकप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्। उनले नयाँ संरचनाले विद्यालयको शैक्षिक वातावरण सुदृढ़ पार्नुका साथै संस्थागत ढाँचालाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। विद्यार्थीहरूले शैक्षिक क्षेत्रमा, राष्ट्रिय स्तरका खेलकुद तथा विभिन्न सह–पाठ्यक्रम गतिविधिहरूमा हासिल गरेका उल्लेखनीय प्रगतिबारे पनि उनले प्रकाश पारिन्।

शिक्षा विभागका पीसीई एवं सचिव चेतराज मिश्रले परियोजनासम्बन्धी प्राविधिक विवरण प्रस्तुत गरे। कृतज्ञताको प्रतीकस्वरूप विद्यालय प्रबन्धन समितिले मुख्यमन्त्री र शिक्षा मन्त्रीलाई स्मृति चिन्ह प्रदान गरेको थियो। उद्घाटनपछि मुख्यमन्त्रीले विद्यालयका नव–निर्मित कक्षा कोठा तथा प्रयोगशालाहरूको भ्रमण गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande