
गान्तोक, 20 जनवरी (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलबार माघे सङ्क्रान्ति मेलाको शुभ अवसरमा जोरथाङस्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा नव–निर्मित प्रेक्षागृहसहित १० कोठे विद्यालय भवनको उद्घाटन गरे। उक्त जानकारी मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्।
मुख्यमन्त्री तामाङले यस महत्वपूर्ण उपलब्धिको अवसरमा उपस्थित हुन पाउनु गर्व र खुशीको क्षण रहेको बताएका छन्। उनले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउने प्रधानाध्यापक, शिक्षकवर्ग, विद्यार्थीहरू, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरू तथा सबै सरोकारवालाहरूलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गरेका छन्।मुख्यमन्त्रीले यो नयाँ पूर्वाधार शैक्षिक, सांस्कृतिक तथा सह–पाठ्यक्रम गतिविधिहरूका लागि एक महत्वपूर्ण मञ्चको रूपमा स्थापित हुने तथा यसले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्। उनले आगामी वर्षहरूमा पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालय, जोरथाङको निरन्तर प्रगति र सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन्।
---------------
हिन्दुस्थान समाचार / बिशाल