
गान्तोक, 20 जनवरी (हि.स.)। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको आगामी १४औँ स्थापना दिवसका लागि गठित आयोजन समितिद्वारा आज रम्फू खेलमैदानमा एक महत्वपूर्ण तयारी बैठक सम्पन्न गरियो। पार्टीका महासचिव अरुण कुमार उप्रेतीको अध्यक्षतामा आयोजित बैठकमा आयोजन समितिका अध्यक्ष एलबी दास, उपाध्यक्ष सञ्जीत खरेल, साथै विभिन्न फ्रन्टल अर्गनाइजेसन र आयोजन समितिका विभागीय प्रमुख एवं इन्चार्जहरूको उपस्थिति रहेको थियो।
एसकेएमले भनेको छ, बैठकमा सहभागी सदस्यहरूले पार्टी अध्यक्ष प्रेमसिंह तामाङद्वारा परिकल्पित “जन आन्दोलनदेखि जन सरकार” अन्तर्गत १४औँ स्थापना दिवसलाई ऐतिहासिक रूपमा सफल बनाउन पार्टीका कार्यकर्ताहरू सबै तहमा अत्यन्त उत्साहित रहेको बताए। यस वर्षको स्थापना दिवसमा पनि उल्लेखनीय जनसहभागिता हुने अपेक्षा गरिएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा विभिन्न राजनीतिक दल तथा सामाजिक पृष्ठभूमिबाट आएका नेता तथा कार्यकर्ताहरूको ‘सामेल कार्यक्रम’ रहनेछ।
बैठकमा आयोजन समितिका विभिन्न शाखाहरूले आ–आफ्ना जिम्मेवारीहरूबारे छलफल गरे। तीमध्ये प्रचार–प्रसार, यातायात व्यवस्थापन, नारी तथा युवा शाखाबाट स्वयंसेवक परिचालन, भोजन व्यवस्थापन, मञ्च व्यवस्थापन, खानेपानी आपूर्ति, मञ्च तथा बस्ने व्यवस्था, पण्डाल निर्माण, सरसफाई, विद्युत आपूर्ति तथा अन्य आवश्यक विषयहरू समावेश थिए।
महासचिव उप्रेतीले आयोजन समितिमा संलग्न सबै पार्टी कार्यकर्ताहरूको समर्पण र प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरे। उनले विशेष रूपमा आधारभूत तहका कार्यकर्ताहरू—डीईसी, सीएलसी, डब्लुएलसी तथा पञ्चायत प्रतिनिधिहरूप्रति आभार प्रकट गर्दै जनसमूह परिचालन र कार्यक्रम सफल बनाउन उनीहरूले पुर्याइरहेको अथक योगदानको प्रशंसा गरे। उनले सबै पार्टी सदस्य र समर्थकहरूलाई यही उत्साह र एकताका साथ काम गर्दै १४औँ स्थापना दिवस २०२६ लाई ऐतिहासिक र अर्थपूर्ण बनाउन अपील गरे।
एसकेएमले अझ भनेको छ, स्थापना दिवस समारोह ४ फरवरी, २०२६ मा रम्फू खेलमैदानमा आयोजना हुनेछ, जहाँ मुख्यमन्त्री तथा पार्टी अध्यक्ष प्रेम सिंह तामाङले सिक्किमका जनतालाई सम्बोधन गर्नेछन्। उनको सम्बोधनमा २०२९ का लागि दृष्टिकोण, भविष्यको कार्ययोजना तथा सिक्किमको समग्र विकाससम्बन्धी प्रमुख दिशानिर्देशहरू प्रस्तुत हुने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / बिशाल