
नयाँ दिल्ली, ०८ जनवरी (हि.स.)।
दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले बिहिबार शीतकालीन सत्रको चौथो दिन सत्तापक्ष र विपक्ष दुवैको मागपछि विपक्षी दलका नेता आतिशीको भिडियो फरेन्सिक जाँचका लागि पठाउने आदेश दिएका छन्। अध्यक्षले जाँच प्रतिवेदन १५ दिनभित्र पेश गर्न निर्देशन दिएका छन्।
यस क्रममा सदनमा हंगामा नरोकिएपछि अध्यक्षले विधानसभा कार्यवाही तेस्रो पटक दिउँसो १ बजेसम्मका लागि स्थगित गरे। आज बिहान ११ बजे सदनको कार्यवाही सुरु हुनेबित्तिकै भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गुरु तेगबहादुरसम्बन्धी आतिशीले दिएको कथित टिप्पणीलाई लिएर हंगामा सुरु गरेका थिए। यसका कारण अध्यक्षले सदनको कार्यवाही आधा घण्टाका लागि स्थगित गरे।
सदन पुनः सुरु हुँदा पनि सत्तापक्षका सदस्यहरूको हंगामा जारी नै रह्यो। यसैबीच हंगामाकै क्रममा क्याबिनेट मन्त्री कपिल मिश्राले आतिशीमाथि टिप्पणी गरेपछि आम आदमी पार्टी (आप) का सदस्यहरूले पनि हंगामा सुरु गरे। अवस्था बिग्रँदै गएपछि अध्यक्षले पुनः आधा घण्टाका लागि सदन स्थगित गरे।
तेस्रो पटक सदनको कार्यवाही सुरु हुँदा पनि हंगामा नियन्त्रणमा नआएपछि अध्यक्षले कार्यवाही फेरि आधा घण्टाका लागि स्थगित गर्नुपरेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी