
कोलकाता, ०८ जनवरी (हि.स.)।
प्रवर्तन निदेशालय (ईडी) ले बिहिबार बिहान पश्चिम बंगाल सरकारलाई परामर्श दिने राजनीतिक सल्लाहकार संस्था इन्डियन पोलिटिकल एक्सन कमिटी (आई–प्याक) को साल्ट लेक सेक्टर–V स्थित कार्यालय तथा यसको संस्थापक प्रतीक जैनको लाउडन स्ट्रिटस्थित निवासमा छापा मारेको छ। एजेन्सी स्रोतका अनुसार, दिल्लीबाट आएको ईडीको विशेष टोलीले यो कारबाही गरेको हो। यो छापा दिल्लीमा दर्ता भएको पुरानो कोइला तस्करी प्रकरणसँग सम्बन्धित बताइएको छ।
छापेमारीको खबर पाउनासाथ दिउँसो मुख्यमन्त्री ममता ब्यानर्जी अचानक प्रतीक जैनको निवासमा पुगेकी थिइन्। मुख्यमन्त्री पुग्नुभन्दा करिब पाँच मिनेटअघि कोलकाता पुलिस आयुक्त मनोज वर्मा पनि घटनास्थलमा उपस्थित थिए।
मुख्यमन्त्री ममताले यस कारबाहीलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै केन्द्रिय गृहमन्त्री अमित शाहमाथि तीखो आक्रमण गरिन्। उनले भनिन्, “दुर्भाग्यवश हाम्रो आईटी सेलको कार्यालयलाई निशाना बनाइयो र सबै हार्ड डिस्क जफत गर्ने प्रयास गरियो। यो योजनाबद्ध राजनीतिक रणनीतिको हिस्सा जस्तो देखिन्छ।”
उनले थप भनिन्, अमित शाह देशको सुरक्षा गर्नसमेत असफल गृहमन्त्री हुन्। प्रवर्तन एजेन्सीहरू र गृह मन्त्रालय लोकतान्त्रिक संस्थाहरूको रक्षा गर्न असफल भएका छन्। “एकातर्फ मतदाताका नामहरू हटाइँदै छन् भने अर्कोतर्फ संवेदनशील डाटा अवैध रूपमा संकलन गर्ने प्रयास भइरहेको छ,” ममताले आरोप लगाइन्।
ईडीको कारबाहीको खबर फैलिनासाथ राज्यको राजनीतिमा हलचल तीव्र भएको छ।
सत्तारूढ तृणमूल कांग्रेस र राज्य प्रशासनभित्र पनि व्यापक चर्चा सुरु भएको छ। प्रतीक जैनलाई राज्यको राजनीतिक र प्रशासनिक वृत्तमा प्रभावशाली व्यक्तित्वका रूपमा हेरिन्छ। उनी पटक–पटक नवान्नमा मुख्यमन्त्रीसँग भेटघाट गरिसकेका छन्। विधानसभा चुनाउअघि आई–प्याक सरकार र सत्तारूढ दलबीच विशेषगरी कल्याणकारी योजनाहरूको कार्यान्वयनमा महत्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको मानिन्छ।
यसका साथै आई–प्याक वरिष्ठ नोकरशाहहरूसँग नियमित सम्पर्कमा रहन्छ र तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक बनर्जी तथा उनको कार्यालयसँग पनि नजिकबाट सहकार्य गर्छ। विधानसभा चुनाउमा उम्मेदवार चयनदेखि सम्पूर्ण चुनावी रणनीतिसम्म आई–प्याकको महत्वपूर्ण भूमिका रहने विश्वास गरिन्छ।
उल्लेखनीय छ, सन् २०१४ को लोकसभा चुनावअघि स्थापना गरिएको आई–प्याकका संस्थापक प्रशान्त किशोर सन् २०१९ को लोकसभा चुनाउपछि तृणमूल कांग्रेस र बंगाल सरकारसँग काम गर्दै आएका छन्। आई–प्याकले २०२१ को विधानसभा चुनाउमा पार्टीलाई भारी बहुमतसहित पुनः सत्तामा ल्याउन तथा २०२४ को लोकसभा चुनाउमा पनि महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी