
गान्तोक, 0१ अक्टोबर (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले नामग्याल इनस्टीट्यूट अफ् टिबेटोलजीको कार्यकारी बोर्ड र सामान्य परिषद् बैठकको अध्यक्षता गरे। राज्यपाल माथुरले संस्थानको अध्यक्षको हैसियतमा लोकभवनको सम्मेलन हलमा संस्थानको संयुक्त कार्यकारी बोर्ड र सामान्य परिषद् बैठकको अध्यक्षता गरे। यस अवसरमा धर्म विभागका मन्त्री तथा संस्थानका उपाध्यक्ष सोनाम लामा प्रमुख अतिथि थिए।
बैठकमा राज्यपालका आयुक्त एवं सचिव जितेन्द्र सिंह राजेले एनआईटीको पृष्ठभूमि र इतिहासको संक्षिप्त सिंहावलोकन प्रदान गरे। उनले संस्थान बौद्ध संस्कृति, दर्शन र इतिहासको संरक्षण र अनुसन्धानको लागि एक अग्रणी केन्द्र रहेको बताए।
परिषद्को बैठकले संस्थानको आगामी बजेट, पूर्वाधार विकास र निर्माण, सोवा रिग्पा अन्तर्गत अस्पताल र अन्य धेरै मुद्दाहरूमा विस्तृत रूपमा छलफल गर्यो।
बैठकलाई सम्बोधन गर्दै राज्यपालले अनुसन्धान प्रयासहरूलाई सुदृढीकरण र विस्तार गर्न, समृद्ध क्षेत्रीय सम्पदाको अध्ययनलाई प्रवर्द्धन गर्न जोड दिए। उनले केन्द्रिय प्रायोजित योजनाहरू विस्तार गर्न र तिनीहरूको लाभ प्रत्यक्ष रूपमा आम जनतामा पुग्न सुनिश्चित गर्न आह्वान गरे।
लोकभवनका अनुसार, बैठकमा संस्कृति विभागका सचिव बसन्त लामा, धर्म विभाग सचिव कुन्चो डोमा, आयुष सचिव सुचित्रा रसाइली, राजस्व सचिव राजेन्द्र शर्मा, आयुषका अतिरिक्त निदेशक डा. कर्मा छाडन भोटिया र एनआईटीका निदेशक डा. पासांग डी. फेम्पू सहित एनआईटीका धेरै वरिष्ठ अधिकारीहरू र प्रतिनिधिहरूको उपस्थिति थियो।
हिन्दुस्थान समाचार / बिशाल