हाउजिङ फर अल योजनामा रकम भुक्तानीको अनियमितताको आरोप, लाभार्थीद्वारा खरसाङमा र्याली
Housing for all


खरसाङ, 01 अक्टोबर (हि.स.)। खरसाङ नगरपालिका अन्तर्गत हाउजिङ फर अल योजनाका लाभार्थीहरूले योजनाअन्तर्गत रकम भुक्तानीमा देखिएको कथित अनियमितताको विषयलाई लिएर बिहिबार खरसाङमा र्याली निकाल्दै महकुमा शासकलाई ज्ञापनपत्र बुझाएका छन्।

रामकृष्ण शर्माको अगुवाइमा निकालिएको र्याली खरसाङ रेलवे स्टेसन परिसरबाट शुरु भएर खरसाङ महकुमा शासकको कार्यालयसम्म पुगेको थियो। र्यालीमा हाउजिङ फर अल योजनाका उल्लेखनीय संख्यामा लाभार्थीहरूको सहभागिता रहेको थियो।

लाभार्थीहरूले योजनाअन्तर्गत आफूहरूले पाउनुपर्ने रकम शीघ्र उपलब्ध गराउनुपर्ने तथा रकम वितरणमा देखिएका समस्याबारे आवश्यक छानबिन गरी समाधान गर्नुपर्ने माग राखेका छन्।

र्यालीपछि प्रतिनिधिमण्डलले खरसाङका महकुमा शासकसँग भेट गरी हाउजिङ फर अल योजनासँग सम्बन्धित विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्र बुझाएपछि उपस्थित लाभार्थीहरूलाई महकुमा शासकसँग भएको छलफलबारे जानकारी गराउँदै आर.के. शर्माले महकुमा शासकले हालै मात्र कार्यभार सम्हालेकाले हाउजिङ फर अल योजनासँग सम्बन्धित सम्पूर्ण विषयमा विस्तृत जानकारी प्राप्त गर्न बाँकी रहेको बताएको जानकारी दिए। यद्यपि, योजनाअन्तर्गत लाभार्थीहरूले पाउनुपर्ने रकम उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिने महकुमा शासकले बताएको उनले जानकारी दिए।

यसका साथै योजनाअन्तर्गत निर्माण सम्पन्न भएका घर तथा अझै अधुरा रहेका घरहरूको छुट्टाछुट्टै विवरण र प्रतिवेदन तयार गरी सम्बन्धित निकायलाई पठाइने तथा त्यसपछि नगरपालिकाले उठाएको २५ हजार रुपियाँसम्बन्धी विषयमा आवश्यक प्रक्रिया अघि बढाइने जानकारी महकुमा शासकले दिएको शर्माले बताए।

शर्माले उपस्थित लाभार्थीहरूलाई महकुमा शासकसमक्ष राखिएका विषय तथा छलफलबारे जानकारी गराउँदै सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया अघि बढ्ने आशा व्यक्त गरे। उनले हाउजिङ फर अल योजनाका सबै लाभार्थीहरूको समस्या समाधानका लागि एकजुट भएर पहल जारी राखिने पनि बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande