आकाशवाणी खरसाङद्वारा इगल क्रेकमा सरसफाइ अभियान
Swachhata hi sewa


खरसाङ, 01 अक्टोबर (हि.स.)। आकाशवाणी खरसाङद्वारा ‘स्वच्छता ही सेवा’ अभियानअन्तर्गत बिहिबार खरसाङको प्रमुख पर्यटकीय स्थल इगल क्रेकमा सरसफाइ अभियान आयोजना गरिएको छ।

आकाशवाणी खरसाङका कार्यक्रम सहनिर्देशक एवं कार्यक्रम निष्पादक राजीव सुब्बाको नेतृत्वमा आयोजित अभियानमा आकाशवाणी खरसाङका स्थायी तथा अस्थायी गरी २५-३० जना कर्मचारी सहभागी भएका थिए। उनीहरूले इगल क्रेक परिसरमा सरसफाइ गरेका थिए।

आफ्नो घर मात्र नभई पर्यटकीय तथा सार्वजनिक स्थलहरू पनि स्वच्छ राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले अभियान आयोजना गरिएको बताइएको छ।

अभियानबारे पत्रकारहरूसँग कुराकानी गर्दै राजीव सुब्बाले आकाशवाणी खरसाङका स्थायी तथा अस्थायी कर्मचारीहरूको सहभागितामा इगल क्रेकमा सरसफाइ अभियान सञ्चालन गरिएको बताए। उनले अभियानमा सहभागी सबै कर्मचारी तथा नगरपालिका प्रशासनप्रति आभार व्यक्त गरे।

सुब्बाले सार्वजनिक तथा पर्यटकीय स्थलको स्वच्छता कायम राख्नु सबैको साझा जिम्मेवारी रहेको सन्देश दिन अभियान आयोजना गरिएको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande