अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ खरसाङमा पालन
Senior citizen day


खरसाङ, 01 अक्टोबर (हि.स.)। खरसाङ महकुमा प्रशासनको आयोजनामा खरसाङस्थित गोर्खा जन पुस्तकालय भवनमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२६ पालन गरिएको छ।

कार्यक्रममा खरसाङका विधायक सोनाम लामा, खरसाङ महकुमा शासक पेमा शेर्पासहित विभिन्न प्रशासनिक अधिकारी, जनप्रतिनिधि, गण्यमान्य नागरिक, ज्येष्ठ नागरिक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति थियो।

स्वागत वक्तव्य राख्दै महकुमा शासक पेमा शेर्पाले ज्येष्ठ नागरिकहरूप्रति आभार व्यक्त गर्दै उनीहरू समाजका नैतिक मार्गदर्शक तथा संस्कृति र परम्पराका बलिया आधार रहेको बताए। उनले ज्येष्ठ नागरिकहरूको सामाजिक सुरक्षा, सार्वजनिक सेवामा सहज पहुँच तथा कल्याणका लागि आवश्यक कार्यक्रम सुनिश्चित गर्न महकुमा प्रशासन प्रतिबद्ध रहेको बताए।

कार्यक्रमका प्रमुख अतिथि विधायक सोनाम लामाले ज्येष्ठ नागरिकहरू विगतका साक्षी मात्र नभई संस्कृति, भाषा तथा सामाजिक व्यवस्थाको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जीवित मार्गदर्शक रहेको बताए। समाजको वास्तविक प्रगति भौतिक पूर्वाधारबाट मात्र नभई ज्येष्ठ नागरिकप्रतिको सम्मान, संवेदना र हेरचाहबाट पनि हुने उनले बताए।

विधायक लामाले प्रशासनद्वारा आयोजित कार्यक्रमको प्रशंसा गर्दै ज्येष्ठ नागरिकहरूका लागि राम्रो स्वास्थ्य सुविधा, मनोरञ्जनका अवसर तथा प्रशासनिक सेवामा सहज पहुँच सुनिश्चित गर्न समाज र प्रशासनले मिलेर काम गर्नुपर्ने बताए।

यस अवसरमा शिक्षा, सामाजिक सेवा, साहित्य तथा क्षेत्रीय सामुदायिक विकासमा दीर्घकालीन योगदान पुर्याएका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो। विधायक सोनाम लामा र महकुमा शासक पेमा शेर्पाले उनीहरूलाई प्रशस्तिपत्र तथा सम्मान प्रदान गरे।

यसैगरी, हिमाली बोर्डिङ स्कूल तथा भिक्टोरिया ब्वाइज स्कूलका विद्यार्थीहरूले सम्मानित ज्येष्ठ नागरिकहरूसँग संवाद गरेका थिए। विद्यार्थीहरूले स्थानीय इतिहाससँग सम्बन्धित प्रश्नहरू राखेका थिए भने ज्येष्ठ नागरिकहरूले आफ्ना जीवनका अनुभव, संघर्ष, सामुदायिक सेवा तथा अन्य विषयमा विद्यार्थीहरूसँग विचार र अनुभव साझा गरेका थिए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande