
रम्फू, 10 अक्टोबर (हि.स.)। पाकिम जिल्लाको रम्फूस्थित खेल मैदानमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र एवम् समितिको सिक्किम राज्य समितिद्वारा आयोजित दुई दिवसीय सद्भावना सम्मेलनमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराज, श्री विभुजी महाराज तथा मुख्यमन्त्री प्रेमसिंह तामाङले अध्यात्म, मानवता, राष्ट्रिय एकता, सद्भावना र विश्वशान्तिको महत्त्वमाथि प्रकाश पारे।
आध्यात्मिक जागरणमार्फत राष्ट्र निर्माणमा युवाहरूको भूमिका सम्बन्धमा सम्मेलनलाई सम्बोधन गर्दै परम पूज्य श्री विभुजी महाराजले युवाहरूलाई आध्यात्मिक क्रान्तिमा सहभागी भई राष्ट्रिय एकता, सद्भावना र मानव कल्याणको भावनासहित राष्ट्र निर्माणमा योगदान पुर्याउन आह्वान गरे। उनले युवाशक्ति राष्ट्रको अमूल्य सम्पत्ति रहेको उल्लेख गर्दै युवाहरूमा सकारात्मक सोच, नैतिक मूल्य, अनुशासन, सेवा भावना र आध्यात्मिक चेतनाको विकास हुन आवश्यक रहेको कुरो बताए।
श्री बिभूजी महाराजका अनुसार, राष्ट्रको समृद्धि केवल भौतिक विकास र आर्थिक उन्नतिमा मात्र सीमित हुँदैन, त्यसका लागि नागरिकको चरित्र निर्माण, मानवीय संवेदना, आपसी विश्वास र सामाजिक उत्तरदायित्व पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्। आध्यात्मिक ज्ञानले मानिसलाई आफ्नो वास्तविक स्वरूप बुझ्न, अरूको सम्मान गर्न र समाजप्रति जिम्मेवार बन्न प्रेरित गर्दछ। यसैले युवाहरूले आपसी मतभेद र विभाजनभन्दा माथि उठेर एकता, सद्भाव र मानवताको मार्ग अवलम्बन गर्नुपर्ने उनले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री एवम् सम्मेलनका प्रमुख अतिथि तामाङले परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराजले अध्यात्मको माध्यमबाट सिक्किमका जनतामाझ पुर्याउँदै आएको असीम कृपा, आशीर्वाद र आध्यात्मिक सन्देशप्रति हार्दिक आभार व्यक्त गरे। उनले सद्गुरुदेव महाराजजीको उपस्थितिले मानिसहरूमा आध्यात्मिक चेतना, नैतिक मूल्य र मानव सेवाप्रतिको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण प्रेरणा मिलेको कुरो व्यक्त गरे। समाजमा शान्ति, प्रेम र सद्भाव कायम राख्न आध्यात्मिक शिक्षाको भूमिका उल्लेखनीय रहने बताउँदै यस्ता सम्मेलनले विभिन्न समुदायबीच आपसी समझदारी, एकता र भाइचाराको भावना बलियो बनाउन सहयोग पुर्याउने धारणा राखे।
प्रमुख अतिथिले भौतिक समृद्धिले स्थायी परम शान्ति र आनन्द
प्राप्त हुन नसक्ने परम शान्ति केवल अध्यात्मद्वारा मात्र सम्भव हुने कुरो भताए। उनले श्री महाराजजी जस्ता आध्यात्मिक महान् पुरुषले राजनीतिमा संलग्न भई जन सेवाको कार्य गरिरहेकोमा खुशी व्यक्त गर्दै श्री महाराजजी जस्ता महा मानवहरु राजनीतिमा नेतृत्व दिनुभए देश समृद्ध बन्ने कुरो बताए।
मुख्यमन्त्रीले आध्यात्मिक मूल्य र मानवीय संवेदनालाई जीवनमा आत्मसात् गर्दै समाजको समग्र विकासमा अघि बढ्नुपर्ने सन्देश दिए। भौतिक विकाससँगै नैतिकता, अनुशासन, सामाजिक उत्तरदायित्व र मानवीय सद्भावलाई पनि महत्त्व दिन सके मात्र समृद्ध तथा शान्त समाज निर्माण गर्न सकिने बताए।
कार्यक्रममा मानव उत्थान सेवा समितिका तर्फबाट मुख्यमन्त्री तथा अन्य विशिष्ट अतिथिहरूलाई सम्मान तथा अभिनन्दन गरिएको थियो।
मानव उत्थान सेवा समितिका सामाजिक एवं आध्यात्मिक गतिविधिहरू समेटिएको पावरपोइन्ट प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। प्रस्तुतिमार्फत समितिले सञ्चालन गर्दै आएका सामाजिक सेवा तथा आध्यात्मिक जागरणसम्बन्धी गतिविधिहरूलाई सहभागीहरूमाझ जानकारी गराइएको थियो।
सम्मेलनमा समितिको सांस्कृतिक विभागका विशिष्ट कलाकारहरुद्वारा भजन तथा विविध सांस्कृतिक कार्यक्रमले विशेष आकर्षण थपेका थिए। सम्मेलनमा सिक्किम लगायत भारतका अन्य प्रान्तहरु लगायत नेपाल, भुटानबाट पनि सन्त समाज एवम् भक्त समुदाय धेरै संख्यामा उपस्थित भएका छन्। दुई दिवसीय सदभावना सम्मेलनको समापन भोलि ११ अक्टोबरको दिन अपरान्हमा हुनेछ।
हिन्दुस्थान समाचार / बिशाल