
रम्फू, 10 अक्टोबर (हि.स.)। पाकिम जिल्लाको रम्फूस्थित खेल मैदानमा मानव उत्थान सेवा समिति उत्तर पूर्वाञ्चल क्षेत्र एवम् समितिको सिक्किम राज्य समितिद्वारा शनिवारदेखि दुई दिवसीय सद्भावना सम्मेलन शुरु भएको छ। सम्मेलनमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराज, श्री विभुजी महाराज तथा मुख्यमन्त्री प्रेमसिंह तामाङलगायत अन्य विशिष्ट अतिथिहरु उपस्थित रहेका थिए।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा परम पूज्य सद्गुरुदेव श्री सतपालजी महाराजको प्रवचन रहेको थियो। आफ्नो आध्यात्मिक सम्बोधनमा उनले विश्वमा स्थायी शान्ति स्थापना गर्न अध्यात्मको भूमिका अपरिहार्य रहेको बताए। मानव समाजमा देखिने द्वन्द्व, असहिष्णुता, विभाजन र अशान्तिलाई न्यूनीकरण गर्न मानिसले आफ्नो अन्तरचेतनालाई जागृत गर्दै प्रेम, करुणा, सहिष्णुता र मानवताको मार्ग अपनाउनुपर्ने सन्देश दिए। सद्गुरुदेव महाराजजीले भारतको आध्यात्मिक परम्परा र ज्ञानको महत्त्वमाथि प्रकाश पार्दै आध्यात्मिक ज्ञानका दृष्टिले भारत विश्वको गुरु बन्न सक्ने धारणा व्यक्त गरे। उनले भौतिक ज्ञान र आध्यात्मिक ज्ञान एकअर्काका परिपूरक भएको उल्लेख गर्दै यी दुवैको समन्वयबाट मात्र मानव समाजको चौतर्फी विकास सम्भव हुने बताए। उनका अनुसार, विज्ञान, प्रविधि र भौतिक उपलब्धिले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाउन सक्छन्, तर ती उपलब्धिलाई मानवीय हितमा उपयोग गर्न नैतिकता, विवेक र आध्यात्मिक चेतना आवश्यक हुन्छ। मानिसले बाह्य संसारको विकाससँगै आफ्नो अन्तरमनलाई पनि परिष्कृत गर्न सकेमा मात्र व्यक्तिगत जीवन, सामाजिक सम्बन्ध र विश्वव्यापी सहअस्तित्वमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्नुहुँदै सद्गुरुदेव महाराजजीले आध्यात्मिक ज्ञानले मानिसलाई मानवताको साझा सूत्रमा बाँध्न सहयोग पुर्याउने उल्लेख गर्दै सबैलाई आध्यात्मिक जागरणतर्फ अग्रसर हुन आह्वान गरे। जाति, भाषा, क्षेत्र र अन्य सामाजिक भिन्नताभन्दा माथि उठेर मानवतालाई प्राथमिकता दिन सकेमा समाजमा एकता र विश्वमा शान्तिको वातावरण निर्माण गर्न सकिने उनको सन्देश थियो। आध्यात्मिकतालाई केवल व्यक्तिगत साधनाको विषयका रूपमा नभई सामाजिक सद्भाव, मानवीय एकता र विश्वशान्ति स्थापनाको आधारका रूपमा बुझ्नुपर्ने कुरो श्री महाराजजीले आह्वान गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल