
जयपुर, १२ अक्टोबर (हि.स.)। साइबर ठगीबाट प्राप्त रकमको लेनदेन गर्न कमिशनको प्रलोभनमा ब्यांड्क खाता उपलब्ध गराएको आरोपमा जयपुरको वैशाली नगर पुलिसले एक युवकलाई पक्राउ गरेको छ। जयपुर पुलिस मुख्यालयद्वारा सञ्चालित ‘म्यूल हन्टर अभियान’ अन्तर्गत गरिएको कारबाहीमा पुलिसले अभियुक्तबाट एउटा मोबाइल फोन, दुई वटा सिम कार्ड र दुई वटा एटीएम कार्ड जफत गरेको छ। पक्रा परेको युवकसँग पुलिसले हाल सोधपुछ गरिरहेको छ।
पुलिस उपायुक्त प्रशान्त किरण अनुसार, साइबर ठगीको रकम लेनदेन गर्न कमिशनको प्रलोभनमा ब्यांक खाता उपलब्ध गराएको आरोपमा जयपुरको करणी विहार निवासी अङ्कित जाङ्गिदलाई पक्राउ गरिएको हो।
वैशाली नगर पुलिस थानाका प्रभारी अरविन्द सिंहले पुलिसको सोधपुछका क्रममा अभियुक्तले कमिशन पाउने लोभमा साइबर ठगी गिरोहलाई आफ्नो बैंक खाता उपलब्ध गराएको खुलासा भएको बताए। उक्त बैंक खाता मार्फत १५ लाख रुपियाँभन्दा बढ़ी रकमको कारोबार गरिएको पाइएको छ।
पुलिसले गिरोहका अन्य सदस्यहरू तथा ठगीको रकम कारोबारमा संलग्न व्यक्तिहरूबारे थप जानकारी जुटाउन अभियुक्तसँग सोधपुछ गरिरहेको छ।
यसैबीच, पुलिसले सर्वसाधारणलाई पैसा वा कमिशनको प्रलोभनमा परेर आफ्नो ब्यांक खाता, एटीएम कार्ड, चेकबुक, इन्टरनेट बैंकिङ वा युपीआई सम्बन्धी विवरण अरू कसैलाई उपलब्ध नगराउन अपील गरेको छ। यस्ता खाताहरू साइबर अपराधमा प्रयोग भएको पाइएमा खाताधनी समेत कानूनी कारबाहीको दायरामा आउन सक्ने पुलिसले चेतावनी दिएको छ।
/ बिशाल