
माल्दा, १२ अक्टोबर (हि.स.)। जिल्लाको गाजोल खण्ड अन्तर्गत बाबुपुर ग्राम पञ्चायतको सिंघइल क्षेत्रमा सोमवार भाजपा बूथ अध्यक्षका छोराको शव घरअगाड़ी फेला परेपछि सनसनी फैलिएको छ। मृतकको पहिचान २२ वर्षीय बिप्लब मुर्मूका रूपमा भएको छ। परिवारका सदस्यहरूले योजनाबद्ध रूपमा हत्या गरिएको आरोप लगाएका छन्। यद्यपि, मृत्युको वास्तविक कारण हालसम्म खुल्न सकेको छैन।
स्थानीय सूत्रहरू अनुसार, सोमवार बिहान एक महिलाले बिप्लबलाई घरअगाड़ी लड़िरहेको अवस्थामा देखेकी थिइन्। त्यसपछि उनले दिएको सूचनाका आधारमा परिवारका सदस्यहरू घटनास्थलमा पुगे। लगत्तै गाजोल थानाको पुलिस टोलीले घटनास्थलमा पुगेर शव कब्जामा लियो। शवलाई पोस्टमार्टमका लागि पठाउने प्रक्रिया शुरु गरिएको छ।
माल्दा जिल्ला पुलिसका अतिरिक्त पुलिस अधीक्षक कुणाल बरनाबासले पनि घटनास्थलको निरीक्षण गरेका छन्। मृतकका पिता माझी मुर्मू उक्त क्षेत्रका भाजपा बूथ अध्यक्ष हुन्। उनले छोराको मृत्यु पछाड़ी राजनीतिक दुश्मनी वा प्रेमप्रसङ्ग हुनसक्ने आशङ्का व्यक्त गरेका छन्। तर, मृत्युको कारणबारे हालसम्म कुनै पुष्टि भएको छैन। उनले निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कड़ा कारबाही गर्न माग गरेका छन्।
पुलिस अनुसार, पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारण स्पष्ट हुनेछ। हाल सबै सम्भावित पक्षलाई ध्यानमा राखेर घटनाको अनुसन्धान भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी