




भोपाल, १४ अक्टोबर (हि.स.)। मध्य प्रदेशमा मध्यरातमा ठूलो प्रशासनिक फेरबदल गरिएको छ। राज्य सरकारले भारतीय प्रशासनिक सेवा (आईएएस) का २३ जना अधिकारीको सरुवा गर्दै नयाँ पदस्थापना गरेको छ। यस क्रममा ११ जिल्लाका जिल्ला अधिकारी फेरिएका छन्। यस सम्बन्धमा सामान्य प्रशासन विभागले मङ्गलवार अबेर राति देश जारी गरेको हो।
जारी आदेश अनुसार, लोक निर्माण विभागका प्रमुख सचिव सुखवीर सिंहलाई मुख्यमन्त्रीको प्रमुख सचिव नियुक्त गरिएको छ। उनले लोक निर्माण विभागको अतिरिक्त जिम्मेवारी समेत सम्हाल्नेछन्। त्यस्तै, मध्य प्रदेश सड़क विकास निगमका प्रबन्ध निदेशक भरत यादवलाई आफ्नो वर्तमान जिम्मेवारीका अतिरिक्त मध्य प्रदेश सरकारको जनसम्पर्क विभागको सचिवको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। यादवले यो जिम्मेवारी सम्हालेपछि अतिरिक्त मुख्य सचिव अनुपम राजन उक्त जिम्मेवारीबाट मुक्त हुनेछन्। यस बाहेक पन्ना, मऊगञ्ज, नर्मदापुरम, जबलपुर, भिण्ड, रायसेन, सिङ्गरौली, बालाघाट, शाजापुर, बुरहानपुर र हरदा गरी ११ जिल्लाका जिल्ला अधिकारी परिवर्तन गरिएका छन्।
प्राप्त जानकारी अनुसार, मुंग खरिद आन्दोलनका क्रममा प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै हरदा र नर्मदापुरमका जिल्ला अधिकारीहरूलाई परिवर्तन गरिएको छ। त्यस्तै, पन्नामा केन–बेतवा परियोजनासँग सम्बन्धित मामिलामा लापरवाही गरेको आरोप लागेपछि जिल्ला अधिकारी उषा परमारलाई हटाइएको छ। सरुवा सूचीमा साल २०१७ ब्याचका आईएएस अधिकारीहरूलाई जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। कुमार सत्यमलाई बालाघाटबाट हरदा पठाइएको छ। बालाघाटमा बालबालिकाको मृत्यु भएको घटनापछि उनको सरुवा गरिएको हो। यद्यपि, उनलाई जिल्ला अधिकारीकै पदमा कायम राख्दै हरदाको जिम्मेवारी दिइएको छ।
त्यस्तै, आदित्य सिंहलाई बालाघाटको नयाँ जिल्ला अधिकारी नियुक्त गरिएको छ। हरदा र अशोकनगरका जिल्ला अधिकारीका रूपमा काम गरिसकेका आदित्य सिंहलाई पुनः जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिइएको छ। अशोकनगरमा पदस्थापनाका क्रममा उनीमाथि घुस लिएको आरोप लागेको थियो, जसलाई झुटो बताइएको थियो। त्यसपछि उनलाई पदबाट हटाइएको थियो। अर्कोतर्फ, नर्मदापुरमका जिल्ला अधिकारी सोमेश मिश्रा एड्स नियन्त्रण समाजका निदेशक तथा भोपाल ग्यास त्रासदी राहत एवं पुनर्वास विभागका निदेशक नियुक्त भएका छन्। उनको स्थानमा आशीष वशिष्ठलाई नर्मदापुरमको जिल्ला अधिकारी बनाइएको छ।
सिङ्गरौलीका जिल्ला अधिकारी गौरव बैनललाई सामान्य प्रशासन विभागमा उपसचिव तथा कर्मचारी छनोट मण्डलको निदेशक नियुक्त गरिएको छ। उनको स्थानमा मन्त्रालयमा उपसचिवका रूपमा कार्यरत अङ्कित अस्थानालाई सिङ्गरौलीको जिल्ला अधिकारी बनाइएको छ। उनलाई पनि पुनः जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो।
जबलपुरका जिल्ला अधिकारी राघवेन्द्र सिंहलाई कृषि विपणन बोर्डको प्रबन्ध निदेशक तथा मण्डी आयुक्त नियुक्त गरिएको छ। रायसेनका जिल्ला अधिकारी अरुण कुमार विश्वकर्मालाई जबलपुर पठाइएको छ। रायसेनमा रोहित सिसोनिया नयाँ जिल्ला अधिकारी हुनेछन्। शाजापुरका जिल्ला अधिकारी ऋजु बाफनालाई उज्जैन मण्डलमा अतिरिक्त आयुक्त (राजस्व) नियुक्त गरिएको छ। उनको स्थानमा इन्दौर विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत परीक्षित सञ्जयराव झाड़ेलाई शाजापुरको जिल्ला अधिकारी बनाइएको छ।
भिण्डका जिल्ला अधिकारी किरोडी लाल मीनालाई वित्त विभागमा उपसचिव नियुक्त गरिएको छ। उनको स्थानमा पवन कुमार जैनलाई भिण्डको जिल्ला अधिकारी बनाइएको छ। पन्नाका जिल्ला अधिकारी उषा परमारलाई बागवानी तथा खाद्य प्रशोधन विभागमा अतिरिक्त सचिव नियुक्त गरिएको छ। उनको स्थानमा बुरहानपुरका जिल्ला अधिकारी हर्ष सिंहलाई पन्ना पठाइएको छ। बुरहानपुरमा विवेक कुमार नयाँ जिल्ला अधिकारी हुनेछन्। मऊगञ्जका जिल्ला अधिकारी सञ्जय कुमार जैनलाई किसान कल्याण तथा कृषि विकास विभागमा उपसचिव नियुक्त गरिएको छ। उनको स्थानमा राजेश कुमार ओगरेलाई मऊगञ्जको जिल्ला अधिकारी बनाइएको छ। हरदाका जिल्ला अधिकारी सिद्धार्थ जैनलाई वाणिज्य कर विभागमा उपसचिव नियुक्त गरिएको छ। उनको स्थानमा कुमार सत्यमलाई हरदा पठाइएको छ।
वरिष्ठ आईएएस अधिकारी रश्मि अरुण शमीलाई जनस्वास्थ्य तथा चिकित्सा शिक्षा विभागको अतिरिक्त मुख्य सचिव नियुक्त गरिएको छ। उनलाई भोपाल ग्यास त्रासदी राहत एवं पुनर्वास विभागको जिम्मेवारी समेत दिइएको छ। केसी गुप्तालाई खाद्य, नागरिक आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। जोन किङ्स्ली एआरलाई सूक्ष्म, लघु तथा मध्यम उद्यम विभागको सचिव नियुक्त गरिएको छ। शोभित जैनलाई कुटीर तथा ग्रामोद्योग विभागको अतिरिक्त जिम्मेवारी दिइएको छ। सङ्केत एस. भोंडवेलाई मध्य प्रदेश भवन, नयाँ दिल्लीका आवासीय आयुक्तको अतिरिक्त जिम्मेवारी सुम्पिएको छ। स्वतन्त्र कुमार सिंहलाई औद्योगिक नीति तथा लगानी प्रोत्साहन विभागको सचिव नियुक्त गरिएको छ।
यस बाहेक सन्दीप केरकेट्टालाई इन्दौर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको छ। अंशुमान राजलाई मध्य प्रदेश राज्य इलेक्ट्रोनिक्स विकास निगमको प्रबन्ध निर्देशक तथा समग्र सामाजिक सुरक्षा अभियानको अभियान निदेशक बनाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी