
जयपुर, १४ अक्टोबर (हि.स.)। जर्मनीको फ्र्याङ्कफर्टबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानमा बम राखिएको धम्की र विमान अपहरण सम्बन्धी सतर्कता सङ्केत प्राप्त भएपछि बुधवार बिहान जयपुर अन्तरराष्ट्रिय विमानस्थलमा आपत्कालीन अवतरण गराइएको छ। विमानमा सवार सबै २५० यात्रु सुरक्षित रहेको जानकारी प्राप्त भएको छ। सुरक्षा निकायहरूले विमान र यात्रुहरूको समानको जाँच गर्न थालेका छन्।
बोइङ ७८७–९ ड्रीमलाइनर विमानले 13 अक्टोबरको राति लगभग ९:४५ बजी फ्र्याङ्कफर्टबाट उड़ान भरेको थियो। उक्त विमान बुधवार बिहान १०:४० बजी दिल्ली पुग्ने निर्धारित समय थियो। उड़ानका क्रममा भारतीय हवाई क्षेत्र नजिकै बमको धम्की प्राप्त भएको सूचना सार्वजनिक भएको थियो। यसैबीच, बिहान लगभग ९ बजी अहमदाबाद हवाई यातायात नियन्त्रण केन्द्रमा केही सेकेन्डका लागि स्क्वाक–७५०० सङ्केत प्राप्त भएको थियो। विमान सेवाको क्षेत्रमा यो सङ्केत विमान अपहरण भएको अवस्थामा प्रयोग गरिन्छ। यद्यपि, उक्त सङ्केत प्राप्त हुनुको वास्तविक कारणबारे आधिकारिक पुष्टि भएको छैन।
त्यसपछि सुरक्षा सम्बन्धी सूचना जयपुर हवाई यातायात नियन्त्रण केन्द्रसँग साझा गरिएको थियो। बिहान लगभग ९:१० बजी विमानको मार्ग परिवर्तन गरी जयपुरतर्फ मोड़िएको थियो। विमानले लगभग ९:४५ बजी जयपुर विमानस्थलमा सुरक्षित अवतरण गर्यो। सुरक्षा निकायहरूको निगरानीमा यात्रुहरूलाई विमानबाट ओरालेर विमानस्थलको टर्मिनलमा राखियो। विमान र यात्रुहरूको समानको जाँच भइरहेको छ। हालसम्म कुनै शङ्कास्पद वस्तु फेला परेको वा जाँचको अन्तिम नतिजाबारे आधिकारिक पुष्टि भएको छैन।
स्रोतहरू अनुसार, गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिएको छ र दिल्लीमा राष्ट्रिय सुरक्षा गार्डका कमान्डो टोलीलाई तयारी अवस्थामा रहन निर्देश दिइएको छ। उक्त टोली जयपुर पुग्नसक्ने सम्भावना पनि व्यक्त गरिएको छ। बमको धम्की र विमान अपहरण सम्बन्धी सतर्कता सङ्केतबारे अनुसन्धान जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी