
नोएडा, 16 अक्टोबर (हि.स.)। उत्तर प्रदेशको नोएडामा बिहीबार मध्यराति सेक्टर ३९ थाना पुलिसले भिडन्तका क्रममा दुई जना कुख्यात लुटेरालाई पक्राउ गरेको छ। पुलिसको जवाफी कारबाहीमा दिल्ली निवासी सलमान (२९) र तनवीर (३७) को खुट्टामा गोली लागेको छ। दुवैलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।
अतिरिक्त पुलिस उपायुक्त अभय कुमार मिश्राका अनुसार, सेक्टर ४१ नजिक जाँचका क्रममा पुलिसले मोटरसाइकलमा सवार दुई जनालाई रोक्न खोज्दा उनीहरू भाग्न थाले। मोटरसाइकल चिप्लिएर लडेपछि उनीहरूले पुलिसमाथि गोली चलाए, जसको जवाफमा पुलिसले गोली चलाएको हो।
पुलिसले उनीहरूको साथबाट एउटा देशी पेस्तोल, गोली, चोरीको बुलेट मोटरसाइकल र दुई लाख १९ हजार रुपियाँ नगद बरामद गरेको छ। सोधपुछका क्रममा उनीहरूले सेक्टर ३९ क्षेत्रमा एक व्यक्तिको बहुमूल्य सुनको सिक्री लुटेको स्वीकार गरेका छन्।
पुलिसका अनुसार, सलमानविरुद्ध ४८ वटा र तनवीरविरुद्ध ४४ वटा मुद्दा दर्ता छन्। उनीहरू राष्ट्रिय राजधानी क्षेत्रका विभिन्न स्थानमा मोटरसाइकल प्रयोग गरी लुटपाट गर्ने घटनामा संलग्न रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी