
खरसाङ, 15 अक्टोबर (हि.स.)। दार्जिलिङ, तराई र डुवर्सका चिया श्रमिक परिवारलाई दशैँको उपहारस्वरूप प्रतिपरिवार ५ हजार रुपियाँ आर्थिक सहायता तथा थप ५० किलो चामल उपलब्ध गराउने पश्चिम बंगाल सरकारको निर्णयलाई भारतीय जनता पार्टीले स्वागत गरेको छ।
भाजपा दार्जिलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले प्रेस विज्ञप्ति जारी गर्दै बन्द चिया बगानका श्रमिक परिवारको आर्थिक कठिनाइलाई ध्यानमा राखेर सरकारले घोषणा गरेको विशेष सहायता प्याकेजलाई सकारात्मक पहलका रूपमा लिएका छन्।
उनका अनुसार, राज्य सरकारले बन्द चिया बगानका १९ हजार ५२४ जना योग्य श्रमिकलाई लक्षित गर्दै प्रत्येक श्रमिकलाई ५ हजार रुपियाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ। यसका साथै, प्रत्येक योग्य परिवारलाई हाल उपलब्ध गराइँदै आएको ३५ किलो चामलबाहेक थप ५० किलो चामल उपलब्ध गराइनेछ। उनले यस निर्णयलाई जनसेवाप्रति सरकारको प्रतिबद्धताको उदाहरण बताएका छन्।
चन्दन प्रसादले चिया बगान बन्द हुँदा श्रमिक परिवारको नियमित रोजगारी र आम्दानीमा गम्भीर असर पर्ने उल्लेख गर्दै यस्तो अवस्थामा दशैँलगायतका चाडपर्व मनाउनु उनीहरूका लागि चुनौतीपूर्ण हुने बताएका छन्। आर्थिक सङ्कटमा रहेका श्रमिक परिवारलाई सम्मानपूर्वक चाडपर्व मनाउने अवसर प्रदान गर्नु मानवीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको उनको भनाइ छ। आर्थिक सहायता सम्बन्धित श्रमिकको बैंक खातामा प्रत्यक्ष हस्तान्तरण गरिने व्यवस्थाले पारदर्शिता कायम राख्न र लाभग्राहीसम्म सहयोग पुर्याउन मद्दत गर्ने उनले बताएका छन्।
उनले सरकारले जनताको वास्तविक समस्या बुझेर आवश्यकताअनुसार निर्णय लिनु नै असल शासनको परिचय भएको उल्लेख गरेका छन्। चिया बगान बन्द भए पनि श्रमिकहरूको चाडपर्व मनाउने अधिकार, परिवारप्रतिको जिम्मेवारी र सम्मानपूर्वक जीवनयापन गर्ने चाहना समाप्त नहुने बताउँदै कठिन परिस्थितिमा सरकारले राहत उपलब्ध गराउनु सराहनीय कदम भएको उनले जनाएका छन्।
हिन्दुस्थान समाचार / हनोक