
खरसाङ, 15 अक्टोबर (हि.स.)। खरसाङअन्तर्गत लङ्भ्यू चियाबारीको चिलाउनेधुरास्थित माता तीनकन्या देवी मन्दिरमा गत मङ्गलवारदेखि आयोजित तीन दिवसीय पूजा अनुष्ठान बिहीवार सम्पन्न भएको छ।
पूजा अनुष्ठानको अन्तिम दिन विधिपूर्वक माताको पूजाअर्चना, कन्या पूजा तथा हवनलगायतका धार्मिक अनुष्ठानहरू सम्पन्न गरिए। पुरोहित रूप नारायण ढुङ्गेल, हरि खनाल र कमल दाहालद्वारा सम्पन्न गराइएको उक्त पूजा अनुष्ठानमा तीनै दिन स्थानीयसहित टाढा-टाढाबाट आएका श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो।
यस वर्ष पनि तीन दिवसीय पूजा अनुष्ठान सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक समितिका कोषाध्यक्ष शरद घिसिङले प्रसन्नता व्यक्त गरेका छन्। उनले पूजालाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शारीरिक, मानसिक र आर्थिक सहयोग पुर्याउने सबैप्रति आयोजक समितिको पक्षबाट आभार प्रकट गरेका छन्।
उनले मन्दिरको ख्याति दिनप्रतिदिन बढ्दै जानुमा सबैको साथ र सहयोग प्रमुख कारण रहेको बताउँदै प्रहरी प्रशासन, समस्त गाउँवासी तथा टाढा-नजिकका सम्पूर्ण सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक