
अदन (यमन)/रियाद (साउदी अरब), 16 अक्टोबर (हि.स.)। इरान समर्थित हुती समूहले यमनको अदनस्थित अल-माशिक राष्ट्रपति भवनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ। आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। यमनका स्वास्थ्यमन्त्री कासिम मोहम्मद बुहैबेहले घटनाको पुष्टि गरेका छन्। यमन सरकारका अनुसार, आक्रमणमा प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरू सुरक्षित रहेका छन्।
अल जजिराका अनुसार, हुती प्रवक्ता याह्या सारीले बिहीबार भएको आक्रमणको जिम्मेवारी लिँदै अदनस्थित साउदी अरबको सैन्य सञ्चालन मुख्यालयलाई निशाना बनाइएको बताएका छन्।
यमनको राष्ट्रपति नेतृत्व परिषद्का अध्यक्ष रशाद अल-अलीमीले सरकारी संस्थाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारी सेनालाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। उनले सरकारी संस्थाहरू पुनःस्थापना गर्ने र देशभर सरकारी नियन्त्रण विस्तार गर्ने उद्देश्यले शुरु गरिएको ‘यमन उदय’ अभियान जारी रहेको बताए।
यमनका युवा मामिलामन्त्री नायेफ सालेह अल-बकरीले अदनमा रहेका सबै मन्त्री सुरक्षित रहेको र आक्रमणपछि पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूले अदन नछाड्ने बताएका छन्। यसैबीच, यमनको सरकारी सेनाले पछिल्लो २४ घण्टामा हुतीका ठेगानाहरूमा १,२५० आक्रमण गरेको दाबी गरेको छ।
सेनाका प्रवक्ता माजेद अल-नुजैलीका अनुसार, हवाईजहाज, मानवरहित विमान, तोपखाना र रकेट प्रक्षेपक प्रयोग गरी गरिएको कारबाहीमा हुतीका १५० वटा सवारीसाधन नष्ट गरिएका छन्। ताइज क्षेत्रमा हुती समूहलाई ठूलो क्षति पुगेको पनि सेनाले दाबी गरेको छ।
साउदी अरबले हुती विद्रोहीमाथि युद्ध अपराध गरेको आरोप लगाउँदै उनीहरूले मुस्लिमहरूका पवित्र स्थल र तीर्थयात्रीहरूलाई जोखिममा पारेको बताएको छ। यसैबीच, साउदी अरबस्थित अमेरिकी दूतावासले त्यहाँका विमानस्थलमा सम्भावित आक्रमणबारे चेताउनी जारी गर्दै आफ्ना कर्मचारीको यात्रामा प्रतिबन्ध लगाएको छ। यमनको ताइजस्थित धी अल-बारीह र जाबामा हुतीका ठेगानाहरूलाई लक्षित गरी दुईवटा हवाई आक्रमणसमेत गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल