
मुम्बई, १६ अक्टोबर (हि.स.)। अनाधिकृत निर्माण गरेको आरोपमा बलिउड अभिनेता अजय देवगनको मुम्बईको जुहू स्थित बङ्गलामा तोडफोडको कारबाही गरिएको छ। बङ्गलामा आवश्यक अनुमति नलिई भित्री संरचनामा परिवर्तन गर्ने, कोठा छुट्याउन विभाजन पर्खाल बनाउने, झ्यालमा हेरफेर गर्ने तथा अन्य संरचनात्मक काम गरेको आरोपमा मुम्बई महानगरपालिकाले उक्त कारबाही गरेको हो। बृहन्मुम्बई महानगरपालिका (बीएमसी) का कर्मचारीहरूले देवगनको बङ्गलाका केही भाग भत्काएका छन्। अनाधिकृत निर्माणको विषयमा काम रोक्न सूचना जारी गरेको केही दिनपछि यो कारबाही गरिएको हो। ७ हजार ८०२ वर्गफिट क्षेत्रफलमा फैलिएको उक्त बङ्गला जुहूस्थित कपोल को–अपरेटिभ हाउसिङ सोसाइटीमा रहेको छ। महानगरपालिका बाट प्राप्त जानकारी अनुसार, आवश्यक नगरपालिकाको अनुमति नलिई बङ्गलाभित्र परिवर्तन गर्ने, विभाजनका पर्खाल बनाउने, झ्यालमा फेरबदल गर्ने तथा अन्य संरचनात्मक काम भइरहेको थियो। यस सम्बन्धमा बीएमसीले गत १० सेप्टेम्बरमा मुम्बई महानगरपालिका ऐनको धारा ३५४ए अन्तर्गत औपचारिक सूचना जारी गर्दै निर्माण कार्य तत्काल रोक्न र वैध कागजात पेस गर्न निर्देशन दिएको थियो। यध्यपि सूचना जारी भएपछि पनि निर्माण कार्य जारी रहेकाले महानगरपालिकाका अधिकारीहरू घटनास्थलमा पुगेर अनाधिकृत संरचनाका केही भाग भत्काएका हुन्। यो कारबाही यस्तो समयमा भएको छ जतिबेला अजय देवगनको अपराधमा आधारित थ्रिलर चलचित्र शृङ्खला ‘दृश्यम’ को अन्तिम भागले चलचित्र घरहरूमा राम्रो प्रदर्शन गरिरहेको र विश्वव्यापी बक्स अफिसमा ४०० करोड रुपियाँको आँकडा पार गरेको समाचारमा उल्लेख छ। यसैबीच अजय देवगन अर्को विवादमा पनि परेका छन्। ‘विमल इलायची’ को विज्ञापनमा देखिएको विषयलाई लिएर महाराष्ट्रको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले उनलाई कारण देखाऊ सूचना जारी गरेको छ। यसै विषयमा अभिनेता शाहरुख खान र टाइगर श्रॉफलाई पनि सूचना जारी गरिएको छ। एफडीए आयुक्त तुकाराम मुंढेका अनुसार उक्त विज्ञापन प्रतिबन्धित उत्पादनको अप्रत्यक्ष प्रचार अर्थात ‘सरोगेट विज्ञापन’ हुन सक्ने आशङ्कामा जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा