
कोलकाता १७ अक्टोबर (हि.स.)। आदिशक्ति देवी दुर्गाको बोधन अनुष्ठानसँगै पश्चिम बङ्गालमा दुर्गा पूजाको उल्लास चरममा पुगेको छ। शुक्रबार महाषष्ठीको रात राजधानी कोलकाता सहित राज्यभरका पूजामण्डपमा श्रद्धालुहरूको ठूलो घुँइचो लागेको थियो। नयाँ पहिरनमा सजिएर लाखौँको सङ्ख्यामा भक्तजन देवी दुर्गाको दर्शन गर्न सडकमा निस्किएका थिए। रात छिप्पिँदै जाँदा महानगरका पूजामण्डपतर्फ जाने दर्शनार्थीहरूको भीड झन् बढ्दै गएको थियो। रातभर कोलकाताका सडकहरू झिलिमिली बत्ती र मानिसहरूको चहलपहलले भरिएका थिए। उत्तरदेखि दक्षिण कोलकातासम्म जताततै उत्सवको रौनक देखिएको थियो। श्रीभूमि स्पोर्टिङ क्लब, सन्तोष मित्र स्क्वायर, कलेज स्क्वायर, मोहम्मद अली पार्क, बोसपुकुर शीतला मन्दिर, जोधपुर पार्क, सिंघी पार्क, चोरबागान सार्वजनिक, मानिकतल्ला चालता बागान लोहापट्टी, दमदम तरुण दल, दमदम पार्क, जगत मुखर्जी पार्क, अहिरीटोला सार्वजनिक, राजडांगा नबो उदय सङ्घ, हिन्दुस्तान पार्क, एकडालिया एभरग्रीन, टाला प्रत्यय र तेलीपुकुर युवा सङ्घ लगायत प्रमुख पूजा मण्डपमा रातभर श्रद्धालुहरूको घुइँचो लागेको थियो। कतै भव्य देवीप्रतिमाले भक्तजनलाई मन्त्रमुग्ध बनाइरहेका थिए भने कतै कलात्मक सजावट र नवीन परिकल्पनाले मानिसहरूलाई आकर्षित गरिरहेका थिए। कोलकाताको भव्य दुर्गापूजा अवलोकन गर्न हावडा, उत्तर तथा दक्षिण २४ परगना, हुगली, पूर्व तथा पश्चिम बर्दवान लगायत राज्यका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मानिसहरू महानगर आइपुगेका छन्। महाषष्ठीको रात मौसमले पनि श्रद्धालुहरूलाई साथ दिएको थियो। बिहीबार दिउँसो भएको मुसलधारे वर्षापछि शुक्रबार मौसम सफा रहेकाले मानिसहरूको उत्साह थप बढेको थियो। पूजामण्डप घुम्ने क्रममा सडक किनारमा सजाइएका खाद्य परिकारका पसल तथा रेस्टुरेन्टमा पनि मानिसहरूको भीड लागेको थियो। त्यहाँ मानिसहरूले विभिन्न परिकारको स्वाद लिइरहेका थिए। यसअघि शुक्रबार दिनमा पूजा मण्डपहरूमा कल्पारम्भ तथा देवीलाई आह्वान गर्न बोधन अनुष्ठान सम्पन्न भएसँगै बङ्गालको सबैभन्दा ठूलो पर्व दुर्गापूजाको औपचारिक सुरुआत भएको थियो। अकाल बोधन अनुष्ठानले महिषासुर विरुद्धको युद्धका लागि देवी दुर्गालाई जागृत गराउने पौराणिक मान्यतालाई जनाउँछ। यो अनुष्ठान भगवान रामले देवीको आह्वान गरेको कथासँग सम्बन्धित छ। यस अवसरमा महिलाहरूले आफ्नो परिवार र सन्तानको सुख, समृद्धि तथा कल्याणका लागि विशेष प्रार्थना गरेका थिए। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले पनि सामाजिक सञ्जाल मार्फत राज्यवासीलाई दुर्गापूजाको शुभकामना दिएका थिए। लाखौँ श्रद्धालुको भीडलाई व्यवस्थित रूपमा नियन्त्रण गर्न प्रशासनले कडा सुरक्षा व्यवस्था मिलाएको छ। भीड व्यवस्थापनका लागि प्रहरी प्रशासन विशेष सतर्क रहेको छ। सहरका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा प्रहरीकर्मी तथा सिभिक स्वयंसेवक परिचालन गरिएको छ। यातायात व्यवस्था सहज बनाउन र प्रहरीलाई सहयोग पुर्याउन राष्ट्रिय क्याडेट कोर (एनसीसी) का क्याडेटहरू पनि सक्रिय रूपमा खटिएका छन्। परम्परागत टोलस्तरीय पूजादेखि भव्य विषय वस्तुमा आधारित पूजामण्डप सम्म श्रद्धालुको आकर्षण बढ्दै गएको छ। विजयादशमी नजिकिँदै जाँदा भक्तजनको भीड अझ बढ्न सक्ने सम्भावना रहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा