
नाम्ची, 17 अक्टोबर (हि.स.)। सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति ए मोहम्मद मुस्ताकले शनिवार नाम्ची जिल्लाको राभाङ्लास्थित राष्ट्रिय प्रौद्योगिकी संस्थान (एनआईटी) सिक्किमको परिसरको निरीक्षण गरेका छन्। सिक्किम राष्ट्रिय प्रौद्योगिकी संस्थान (एसएनएलयू) को स्थायी क्याम्पस स्थापनाका लागि उक्त स्थान कति उपयुक्त छ भनी मूल्याङ्कन गर्न उनले सो स्थलको भ्रमण गरेका छन्।
यस अवसरमा मुख्य न्यायाधीशसँगै सिक्किम उच्च न्यायालयका पञ्जीकार जेनरल कर्मा वाङ्चुक भोटिया, कानून तथा संसदीय मामिला विभागका सचिव सुरज छेत्री, भवन तथा आवास विभागका प्रधान मुख्य अभियन्ता यदुनन्दन गौतम, सिक्किम राष्ट्रिय विधि विश्वविद्यालयका उपकुलपति (प्रभारी) प्रा. डा. राजेन्द्र धर दुबे, मुख्यमन्त्रीका लागि नाम्ची जिल्लाका अतिरिक्त राजनीतिक सचिव विष्णु प्रसाद शर्मासहित अन्यको उपस्थिति रहेको थियो।
शुरुमा आरओ रिञ्जिङ वाङ्याल भोटियाले मुख्य न्याधीशलाई करिब 9.23 ऐकरमा फैलिएको उक्त परिसरको समग्र खाका र त्यहाँ रहेका पूर्वाधारबारे जानकारी गराए। उनले सिक्किम राष्ट्रिय विधि विश्वविद्यालयका शैक्षिक तथा प्रशासनिक आवश्यकता पूरा गर्न थप सुविधाहरू विकास गर्न सकिने गरी परिसरसँग जोड़िएका वा वरिपरिका जग्गाहरूबारे पनि प्रकाश पारे।
एनआईटी सिक्किमका अधिकारीहरूसँगको अन्तरक्रियाका क्रममा डीन रञ्जन बसाकले संस्थाको कार्यप्रणाली र व्यवस्थापनबारे जानकारी प्रस्तुत गरे। उनले विभिन्न पूर्वाधार भवनहरूको उपयोग, आवास सुविधा, पानी ट्याङ्की व्यवस्थापन, फोहोर व्यवस्थापन प्रणाली, विभिन्न विभागमा विद्यार्थी भर्नाको अवस्था तथा क्याम्पसका अन्य सुविधाबारे विस्तृत रूपमा बताए। उनले भ्रमणमा आएको प्रतिनिधिमण्डललाई सिङ्तामको खाम्दोङमा निर्माणाधीन एनआईटी (एनआईटी) सिक्किमको स्थायी परिसर र उक्त संस्थालाई नयाँ परिसरमा चरणबद्ध रूपमा सार्ने प्रक्रियाबारे जानकारी गराए।
निरीक्षणका क्रममा मुख्य न्यायाधीश मुस्ताकले हाल उपलब्ध कक्षाकोठा, प्राध्यापक आवास, सम्मेलन कक्ष र पुस्तकालयको उपयोगबारे जिज्ञासा राखे। उनले प्रस्तावित सिक्किम राष्ट्रिय विधि विश्वविद्यालयको परिसर भविष्यमा विस्तार गर्न नजिकै थप जग्गा उपलब्ध छ वा छैन भन्नेबारे पनि जानकारी लिए।
प्रधान न्यायाधीशले प्रस्तावित विश्वविद्यालयका लागि आवश्यक अपेक्षा र आवश्यकता स्पष्ट पार्दै विद्यार्थी तथा प्राध्यापकहरूको शैक्षिक, प्रशासनिक र आवासीय आवश्यकता पूरा गर्न पर्याप्त पूर्वाधार र अत्यावश्यक सुविधाहरू हुनुपर्ने कुरामा जोड़ दिए।
त्यसपछि मुख्य न्यायाधीशले एनआईटी सिक्किमको हालको परिसरको अवलोकन गरे र त्यहाँ रहेका विभिन्न पूर्वाधार तथा सुविधा जस्तै बहुउद्देश्यीय हल, पानीका ट्याङ्की, खेल मैदान तथा विद्यार्थी र प्राध्यापकहरूका लागि आवास गृहको निरीक्षण गरे।
त्यसपछि मुख्य न्यायाधीशले तथागत सालको भ्रमण गरे र उक्त परिसरको अवलोकन गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल