
जबलपुर १७ अक्टोबर (हि.स.)। मध्य प्रदेशको जबलपुर जिल्ला स्थित विश्वप्रसिद्ध पर्यटकीय स्थल भेडाघाटको सेतो संगमरमरले बनेका मनमोहक चट्टानहरूको काखमा शरद पूर्णिमाको पावन अवसरमा आगामी अक्टोबर २४ र २५ दुईदिने भव्य ‘नर्मदा महोत्सव’ आयोजना हुने भएको छ। जबलपुर पुरातत्त्व, पर्यटन तथा संस्कृति परिषद् (जेएटीसीसी) का प्रमुख कार्यकारी अधिकारी मानवेंद्र सिंहले शनिबार यसबारे जानकारी दिँदै मध्य प्रदेश पर्यटन बोर्ड, संस्कृति विभाग तथा जेएटीसीसीको संयुक्त तत्त्वावधानमा आयोजना हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्। उनले बताए अनुसार यस वर्षको नर्मदा महोत्सवमा देशका ख्यातिप्राप्त कलाकारहरूको सुमधुर सांगीतिक प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाउनेछ। भेडाघाटमा अक्टोबर २४ तारिखदेखि सुरु हुने महोत्सवको पहिलो दिन भक्ति संगीत र सूफी गायनका नाममा समर्पित हुनेछ। फिल्म ‘हनुमान अंश’ का चर्चित भजन गायक सुनील लोधीले आफ्नो परिचित स्वरमा ‘मैने तेरे ही भरोसे हनुमान, सागर में नैया डाल दई प्रस्तुत गर्नेछन्। सोही साँझ प्रसिद्ध पार्श्व गायिका जसपिन्दर नरुलाले आफ्नो लोकप्रिय सूफी गायन शैलीमार्फत सांगीतिक माहोललाई अझ आकर्षक बनाउनेछिन्। नर्मदा महोत्सवको दोस्रो दिन अक्टोबर २५ तारिख प्रसिद्ध पार्श्व गायिका ऋचा शर्माका नाममा समर्पित हुनेछ। आफ्नो सशक्त र मनमोहक स्वरमा उनले आध्यात्मिक भावले भरिएका तथा सूफी संगीतका सुमधुर गीत प्रस्तुत गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध बनाउनेछिन्। जेएटीसीसीका प्रमुख कार्यकारी अधिकारी मानवेंद्र सिंहका अनुसार यस वर्ष पनि नर्मदा महोत्सवमा जबलपुरका स्थानीय कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनेछन्। महोत्सवको पहिलो दिन अक्टोबर २४ तारिख जबलपुरकी समृद्धि अय्यरले नवदुर्गा शास्त्रीय नृत्य प्रस्तुत गर्नेछिन्। त्यसैगरी दोस्रो दिन अक्टोबर २५ मा जबलपुरको त्रिभङ्ग कला एकाडेमीकी कौतुकी उपाध्यायले आकर्षक शास्त्रीय कथक नृत्य प्रस्तुत गर्नेछिन्। यसका अतिरिक्त केन्द्रीय संस्कृति विभागको सहयोगमा नागपुरको प्रसिद्ध ढोल–तासा समूह ‘शिवमुद्रा’ले ऊर्जाशील प्रस्तुति दिनेछ। यसैगरी सागरको लोकनृत्य समूहले परम्परागत ‘बधाई नृत्य’ प्रस्तुत गर्दै भारतीय लोक संस्कृतिको अनुपम झलक देखाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा