सिक्किममा एकल प्रयोग हुने प्रतिबन्धित प्लास्टिकविरुद्ध संयुक्त निरीक्षण
निरीक्षण गर्दै अधिकारीहरू


गान्तोक, 17 अक्टोबर (हि.स.)। सिक्किम राज्य प्रदूषण नियन्त्रण बोर्ड (एसपीसीबी) ले राज्यका विभिन्न नगर क्षेत्रमा एकल प्रयोग हुने प्लास्टिक (एसयूपी) माथिको प्रतिबन्ध कार्यान्वयन गर्न संयुक्त निरीक्षण अभियान सञ्चालन गरेको छ।

१७ अक्टोबर, २०२६ मा बोर्डका अधिकारीहरूले स्थानीय नगर निकायका अधिकारीहरू तथा सिक्किम पुलिसको सहकार्यमा रम्फू, नयाँबजार-जोरेथाङ, नाम्ची, सिङ्ताम र गेजिङ नगर क्षेत्रमा निरीक्षण गरेका थिए।

प्लास्टिक फोहोर व्यवस्थापन नियमावली, २०१६ अन्तर्गत प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीको प्रयोग तथा बिक्रीवितरण भए-नभएको जाँच गर्न सम्बन्धित क्षेत्रका पसल तथा व्यावसायिक प्रतिष्ठानहरूको निरीक्षण गरिएको थियो। यस क्रममा सर्वसाधारण, खुद्रा व्यापारी तथा विक्रेताहरूलाई प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीबारे जानकारी दिँदै जनचेतना पनि फैलाइएको थियो।

प्रतिबन्धित सामग्रीमा थर्मोकोल, कप, प्लेट, गिलास, स्ट्र, चम्चा, चक्कु र काँटाजस्ता सामग्री रहेका छन्। यसका साथै मिठाईका बाकस, चुरोटका प्याकेट तथा निमन्त्रणा कार्डमा प्रयोग गरिने प्याकिङ वा बेरिने प्लास्टिक फिल्म र १०० माइक्रोनभन्दा कम मोटाइका पीभीसी वा प्लास्टिकका ब्यानर पनि प्रतिबन्धित छन्।त्यसैगरी, ६० जीएसएमभन्दा कम तौलका नबुनेका प्लास्टिकका झोला, १२० माइक्रोनभन्दा कम मोटाइका चिह्न नलगाइएका पोलिथिनका झोला तथा दुई लिटर वा सोभन्दा कम क्षमताका प्याकेटबन्द पिउने पानीका पीईटी बोतल, क्षारीय पानीका बोतलसमेत, पूर्ण रूपमा प्रतिबन्धित रहेको बोर्डले जनाएको छ।निरीक्षणका क्रममा कुनै पनि प्रतिबन्धित सामग्रीको उल्लङ्घन नभेटिएको विज्ञप्तिमा उल्लेख छ।एसपीसीबी सिक्किमले राज्यलाई प्लास्टिकमुक्त बनाउन सर्वसाधारण, खुद्रा व्यापारी, वितरक तथा पसलेहरूलाई सहयोग गर्न आग्रह गरेको छ। साथै, राज्यमा प्रतिबन्धित एकल प्रयोग हुने प्लास्टिकजन्य सामग्रीको प्रयोग नगर्न पनि अपील गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande