
पूर्व मेदिनीपुर, १७ अक्टोबर (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आगामी एक वर्षभित्र सरकारी क्षेत्रमा एक लाख जनालाई नियुक्त गर्ने घोषणा गरेका छन्। उनले आगामी दुई वर्षभित्र नन्दीग्राममा सडक, खानेपानी, ढल निकास व्यवस्था तथा काम गर्ने वातावरणमा उल्लेखनीय सुधार गरिने पनि बताएका छन्। मुख्यमन्त्रीले शुक्रबार राति नन्दीग्राममा छ:वटा दुर्गापूजा पण्डालको उद्घाटन गर्दै उक्त घोषणा गरेका हुन्। यस अवसरमा उनले सबैलाई दुर्गापूजाको शुभकामना दिँदै समाजका सबै वर्गका मानिसले शान्तिपूर्ण र हर्षोल्लासका साथ पर्व मनाउन पाउनुपर्ने बताए। रोजगारी विषयमा बोल्दै उनले आगामी एक वर्षभित्र सरकारी क्षेत्रमा एक लाख जनालाई नियुक्त गर्ने लक्ष्य राखिएको जानकारी दिए। यसका साथै आर्थिक रूपमा कमजोर वर्गका मानिसलाई विभिन्न सामाजिक कल्याणकारी योजनासँग जोड्ने प्रतिबद्धता पनि व्यक्त गरे। मुख्यमन्त्रीको विकास सम्बन्धी घोषणाकै बीच राज्यको स्वास्थ्य विभागका वरिष्ठ अधिकारीहरूले हल्दियामा निर्माणाधीन ५० शैय्याको ट्रमा सेन्टर तयारीको निरीक्षण गरेका छन्। उक्त ट्रमा सेन्टरलाई आगामी २०२७ को जुन महिनासम्म सञ्चालनमा ल्याउने लक्ष्य निर्धारण गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा