
होजाई (असम), १९ अक्टोबर (हि.स.)। दुर्गापूजाका क्रममा गुवाहाटी-साइराङ एक्सप्रेस (रेल सङ्ख्या १५६०९) मा यात्रा गरिरहेका तीन बङ्गलादेशी नागरिकलाई असमको लुमडिङ रेलवे जङ्क्सनमा रेलवे सुरक्षा बल (आरपीएफ) ले अभियान चलाएर नियन्त्रणमा लिएको छ।
आरपीएफले सोमबार दिएको जानकारीअनुसार, पक्राउ परेकाहरूको पहिचान बिलाल हुसेन, अमिर अली र हसन मियाँका रूपमा भएको छ। उनीहरू सबै बङ्गलादेशको सुनामगञ्ज जिल्लाका बासिन्दा रहेको बताइएको छ। उनीहरू करिब तीन महिनाअघि पश्चिम बङ्गालको मुर्शिदाबाद क्षेत्रबाट भारत-बङ्गलादेश सीमा पार गरेर भारत प्रवेश गरेका थिए। भारत प्रवेश गर्नका लागि आफूहरूले एक दलाललाई १५ हजार रुपियाँ दिएको उनीहरूले अधिकारीहरूलाई बताएका छन्।
भारत प्रवेश गरेपछि उनीहरू तीनै जना उत्तर प्रदेश गएका थिए, जहाँ उनीहरूले मजदुरीको काम गरेका थिए। त्यसपछि लुमडिङ रेलवे जङ्क्सनमा आरपीएफले उनीहरूलाई पक्राउ गरेको हो। यस घटनाले सीमापारबाट हुने अवैध आवागमनमा बिचौलिया अर्थात् दलालहरूको भूमिकामाथि प्रश्न उठाएको छ।
यद्यपि, उनीहरूको पक्राउसँग सम्बन्धित थप जानकारी तथा अनुसन्धानको विवरण आउन बाँकी छ। उनीहरूविरुद्ध गरिएको कानुनी कारबाही र यस घटनामा बिचौलियाहरूको कथित भूमिकाबारे थप जानकारीको प्रतीक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी