
वाराणसी, १९ अक्टोबर (हि.स.)। उत्तर प्रदेशको वाराणसीस्थित मिर्जामुराद क्षेत्रमा रूपापुर ओभरब्रिजमा सोमबार बिहान करिब ६ बजी रोकिराखेको स्कर्पियो गाडीलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्।
प्रत्यक्षदर्शीहरूका अनुसार, विन्ध्याचलबाट दर्शन गरेर फर्किरहेका आठ जनाले ओभरब्रिजमा स्कर्पियो गाडी रोकेका थिए। उनीहरू सेल्फी खिच्नका लागि गाडीबाट बाहिर निस्कन लागेका बेला प्रयागराजतर्फबाट तीव्र गतिमा आइरहेको ट्रकले रोकिराखेको स्कर्पियोलाई पछाडिबाट जोडदार ठक्कर दिएको थियो।
ठक्कर यति भीषण थियो कि स्कर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भयो। दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भयो भने अन्य चार जना गम्भीर रूपमा घाइते भए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनापछि घटनास्थलमा चिच्याहट र भागदौड मच्चिएको थियो। आसपासका मानिसहरूले पुलिसलाई घटनाबारे जानकारी दिएका थिए।
घटनास्थलमा पुगेको मिर्जामुराद पुलिसले स्थानीय बासिन्दाको सहयोगमा क्षतिग्रस्त गाडीमा फसेका घाइतेहरूलाई बाहिर निकाल्यो। सबै घाइतेलाई एम्बुलेन्समार्फत ट्रमा सेन्टर पठाइयो।
एसीपी अजय कुमारका अनुसार, मृतकहरूको पहिचान अमन यादव, गोलु, आलोक मिश्रा र अन्य एक जनाका रूपमा भएको छ। घाइतेमध्ये कन्हैया यादव र निखिल कुमार गम्भीर रूपमा घाइते भएका छन्। अर्का एक घाइतेको भने पहिचान हुन सकेको छैन।
हिन्दुस्थान समाचार / भवानी थामी