
देहरादून, १९ अक्टोबर (हि.स.)। डा. ढाल सिंह बिसेनले सोमबार उत्तराखण्डको नवौँ राज्यपालका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। लोक भवनमा आयोजित समारोहमा उत्तराखण्ड उच्च अदालतका मुख्य न्यायाधीशले उनलाई शपथ गराएका थिए।
मुख्य सचिवले नियुक्तिसम्बन्धी अधिपत्र पढेर सुनाएपछि उत्तराखण्ड उच्च अदालतका मुख्य न्यायाधीश न्यायमूर्ति मनोज तिवारीले उनलाई शपथ गराएका थिए। मध्य प्रदेशका वरिष्ठ भाजपा नेता डा. बिसेनलाई राष्ट्रपति द्रौपदी मुर्मूले १२ अक्टोबरमा उत्तराखण्डको राज्यपाल नियुक्त गरेकी थिइन्। शपथग्रहण समारोहमा मुख्यमन्त्री पुष्कर सिंह धामी, मुख्य सचिव आनन्द वर्धन, मन्त्री, विधायकलगायत वरिष्ठ जनप्रतिनिधि, प्रशासनिक अधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए।
डा. ढाल सिंह बिसेनको जन्म १४ मई १९५२ मा मध्य प्रदेशको सिवनी जिल्लास्थित पिपरियामा भएको थियो। उनले सन् १९९० मा मध्य प्रदेश विधानसभाको चुनाव जितेर आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसपछि उनी सन् १९९३, १९९८ र २००३ मा पनि विधायक निर्वाचित भएका थिए।
सन् २००३ मा मध्य प्रदेशमा भाजपा सरकार गठन भएपछि बिसेनलाई मन्त्रिपरिषद्मा समावेश गरिएको थियो। उनले सन् २००३ देखि २००५ सम्म क्याबिनेट मन्त्रीका रूपमा काम गरेका थिए। यस अवधिमा उनले वन, यातायात, खनिज, विद्यालय शिक्षा र जेललगायत विभिन्न विभागको जिम्मेवारी सम्हालेका थिए।
बिसेन सन् २०११ देखि २०१३ सम्म मध्य प्रदेश राज्य वित्त आयोगका अध्यक्ष पनि रहेका थिए। सन् २०१९ को लोकसभा चुनावमा भाजपाले उनलाई बालाघाट संसदीय क्षेत्रबाट उम्मेदवार बनाएको थियो। उक्त चुनावमा निर्वाचित भएपछि उनी पहिलोपटक लोकसभामा पुगेका थिए।
राजनीतिक तथा प्रशासनिक जिम्मेवारीसँगै बिसेन सामाजिक गतिविधिमा पनि संलग्न रहँदै आएका छन्। उनी अन्य पछौटे वर्ग (ओबीसी) अन्तर्गत पर्दछन् र भोयर पवार समुदायसँग सम्बन्धित छन्। उनलाई आयुर्वेद तथा होमियोप्याथीसँग सम्बन्धित चिकित्सकका रूपमा पनि चिनिन्छ।
मध्य प्रदेशको राजनीतिमा लामो समय सक्रिय रहेका डा. ढाल सिंह बिसेनले सोमबार उत्तराखण्डको राज्यपाल पदको शपथ लिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी