
गान्तोक, 02 अक्टूबर (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गान्धी जयन्तीको अवसरमा राष्ट्रपिता महात्मा गान्धीलाई स्मरण गर्दै सत्य, अहिंसा, समानता र सामाजिक सद्भावका मूल्यलाई दैनिक जीवनमा आत्मसात् गर्न सबैमा आह्वान गरेका छन्।
मुख्यमन्त्री तामाङले शुक्रबार सामाजिक सञ्जालमार्फत जारी सन्देशमा न्यायपूर्ण र सद्भावपूर्ण समाज निर्माणका लागि महात्मा गान्धीका आदर्श र सिद्धान्तहरू आज पनि उत्तिकै प्रेरणादायी रहेको बताएका छन्।
उनले सत्य, अहिंसा र सामाजिक न्यायप्रतिको गान्धीको दृढ प्रतिबद्धता सबैका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै राष्ट्रलाई स्वतन्त्रताको बाटोमा अघि बढाउन गरेको अथक प्रयासको स्मरण गरेका छन्। साथै, एकताबद्ध र समावेशी भारत निर्माणको गान्धीको दृष्टिकोण आज पनि मार्गदर्शक शक्ति रहेको उनले बताए।
मुख्यमन्त्री तामाङले सबैलाई दैनिक जीवनमा गान्धीका शिक्षालाई व्यवहारमा उतार्न आग्रह गर्दै समानता, शान्ति र सामुदायिक सद्भाव कायम हुने समाज निर्माणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले राज्य र राष्ट्रको समग्र उन्नतिका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिँदै गान्धीले देखाएको सत्य, अहिंसा र सबैका लागि राम्रो भविष्य निर्माण गर्ने मूल्यप्रति पुनः प्रतिबद्ध हुन आह्वान गरेका छन्।
मुख्यमन्त्री तामाङले ‘आफूले समाजमा देख्न चाहेको परिवर्तन आफैँबाट शुरु गर्नुपर्ने’ सन्देश दिँदै सबैलाई गान्धी जयन्तीको शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल