
कोलकाता, 0२ अक्टोबर (हि.स.)। हावडा स्टेसनमा रेलवे सुरक्षा बल (आरपीएफ) ले फेरि ठूलो परिमाणमा बेहिसाबी नगद बरामद गरेको छ। मध्य प्रदेशबाट आएको शिप्रा एक्सप्रेसका एक यात्रुको झोला खानतलासी गर्दा ४४ लाख रुपियाँ नगद बरामद भएको हो। यति ठूलो रकम बोकेर यात्रा गर्नुको कुनै वैध कागजात वा प्रमाण प्रस्तुत गर्न नसकेपछि यात्रुलाई नियन्त्रणमा लिएर आयकर विभागका अधिकारीहरूको जिम्मा लगाइएको छ। पछिल्ला केही दिनयता हावडा स्टेसनमा लगातार नगद बरामद हुन थालेपछि रेलवे प्रहरीले सुरक्षा तथा निगरानी थप कडा बनाएको छ।
आरपीएफले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार, यो घटना बिहीबारको हो। हावडा स्टेसनको प्लेटफर्म नम्बर १७ मा डाउन शिप्रा एक्सप्रेस आएर रोकिएपछि मध्य प्रदेशको विदिशाबाट कोलकाता आएका यात्री रोहित सिंहको संदिग्ध गतिविधि देखेर त्यहाँ पहिल्यै तैनाथ आरपीएफको गुप्तचर टोलीलाई शङ्का भएको थियो। अधिकारीहरूले उनलाई रोकेर सोधपुछ गर्नुका साथै झोला खानतलासी गर्दा नोटका बिटा फेला पारेका थिए। रकम गन्दा कुल ४४ लाख रुपियाँ नगद रहेको पुष्टि भएको थियो।
आरपीएफ स्रोतका अनुसार, प्रारम्भिक सोधपुछका क्रममा रोहित सिंहले उक्त रकम कोलकाताबाट सुन खरिद गर्न ल्याएको दाबी गरेका थिए। तर आफ्नो दाबी पुष्टि गर्ने वा रकमको स्रोत वैध रहेको प्रमाणित गर्ने कुनै पनि कागजात उनीसँग थिएन। त्यसपछि आरपीएफले सम्पूर्ण रकम नियन्त्रणमा लिएर आयकर विभागलाई जानकारी गराएको थियो।
सूचना पाएलगत्तै आयकर विभागका अधिकारीहरू हावडा स्टेसन पुगे र बरामद नगदसँगै यात्रुलाई पनि आफ्नो नियन्त्रणमा लिए। आयकर विभागले अब उक्त रकमको वास्तविक स्रोत के हो तथा यसको सम्बन्ध हवाला वा अन्तरराज्यीय अवैध व्यापारसँग छ कि छैन भन्नेबारे जॉंच गरिरहेको छ।
उल्लेखनीय छ, हावडा स्टेसनमा नगद बरामद भएको यो तेस्रो ठूलो घटना हो। सेप्टेम्बरको अन्तिम साता आरपीएफले महाराष्ट्रका सुजीत काले नाम गरेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो। उनको साथबाट करिब ६७ लाख रुपियाँ नगद बरामद भएको थियो। त्यसको केही दिनपछि वन्दे भारत एक्सप्रेसबाट आएका अर्का यात्रुलाई हावडा स्टेसनको पुरानो परिसरबाट पक्राउ गरिएको थियो। उनको साथबाट २१ लाख रुपियाँ नगद र सुन बरामद भएको थियो।
हिन्दुस्थान समाचार / भवानी थामी