
जगदलपुर/रायपुर, २३ अक्टोबर (हि.स.)। राष्ट्रपति द्रौपदी मुर्मूले छत्तीसगढ़ भ्रमणको दोस्रो दिन आज शुक्रवार जगदलपुर स्थित बस्तरकी आराध्य देवी माता दन्तेश्वरीको मन्दिरमा पुगेर विधिपूर्वक पूजा-अर्चना गरिन्। उनले माता दन्तेश्वरीसँग देशवासीको सुख, शान्ति, खुशी र मंगलमय जीवनको कामना गरिन्।
यसअघि राष्ट्रपति मुर्मूलाई माता दन्तेश्वरी मन्दिर परिसरमा परम्परागत रूपमा स्वागत गरियो। यस अवसरमा राज्यपाल रमेन डेका र मुख्यमन्त्री विष्णुदेव सायले पनि माता दन्तेश्वरीको दर्शन गरी प्रदेशवासीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गरे।
मुख्यमन्त्री विष्णुदेव सायले बस्तरकी आराध्य देवी माता दन्तेश्वरीप्रति यस क्षेत्रका मानिसहरूको अटुट श्रद्धा रहेको बताए। उनले माता दन्तेश्वरी बस्तरको आस्था र जनजीवनको अभिन्न हिस्सा रहेको उल्लेख गरे। राष्ट्रपतिको माता दन्तेश्वरीको दर्शन तथा पूजा-अर्चनाका लागि आगमन बस्तर र समग्र छत्तीसगढ़का लागि गौरवको अवसर भएको उनले बताए।
मुख्यमन्त्री सायले बस्तर आफ्नो अनुपम जनजातिय संस्कृति, प्राचीन परम्परा र विशिष्ट जीवनमूल्यका कारण देश तथा विश्वमा छुट्टै पहिचान बनाउन सफल भएको बताए। यहाँका परम्परामा प्रकृति, आस्था र समाजबीच गहिरो सम्बन्ध देखिने उनले उल्लेख गरे। राष्ट्रपति मुर्मूको भ्रमणबाट बस्तरको समृद्ध सांस्कृतिक विरासत र परम्पराले राष्ट्रिय स्तरमा नयाँ पहिचान र सम्मान प्राप्त गर्ने पनि उनले बताए।
उल्लेखनीय छ, माता दन्तेश्वरी बस्तर क्षेत्रकी आराध्य देवी हुन्। बस्तरवासीको माता दन्तेश्वरीप्रति गहिरो आस्था रहेको छ र उनको उपासनाले यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ। माताप्रतिको आस्था बस्तरका शताब्दीयौँ पुराना परम्परा तथा यहाँको सामाजिक र सांस्कृतिक जीवनमा गहिरोसँग गाँसिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी