
देहरादुन, २३ अक्टोबर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को अनुसूचित जनजाति मोर्चाका राष्ट्रिय अध्यक्ष तथा उदयपुरका सांसद डा. मन्ना लाल रावतले शुक्रवार मोदी सरकारले जनजातिय समुदायको विकास र उनीहरूलाई मूलधारमा जोड्नका लागि विभिन्न कदम चालेको बताएका छन्।
उत्तराखण्ड भ्रमणमा आएका डा. रावतले देहरादुनमा अनुसूचित जनजाति मोर्चाको संगठनात्मक बैठकमा सहभागिता जनाए। नक्सल प्रभावित क्षेत्रहरूको उल्लेख गर्दै उनले नक्सलवाद नियन्त्रण गर्ने प्रयासहरूले जनजातिय समुदायलाई मूलधारमा जोड्न मद्दत गरेको दाबी गरे। उनले जनजातिय समुदायको उत्थान र विकासका लागि विभिन्न कदम चालिएको तथा उनीहरूलाई विकासको मूलधारमा जोड्न विभिन्न योजनाहरू सञ्चालन भइरहेको बताए।
डा. रावतले आगामी १५ नोभेम्बरमा देशभरि जनजातिय गौरव दिवस मनाइने जानकारी दिए। यस अवसरमा सरकारी स्तरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछन्। भाजपा र अनुसूचित जनजाति मोर्चाले पनि जनजातीय समुदायको गौरव, अधिकार तथा उत्थानसँग सम्बन्धित कार्यक्रमहरू आयोजना गर्नेछन्।
उनले पहिले सीमावर्ती क्षेत्रमा रहेका जनजातिय गाउँहरूलाई देशका अन्तिम गाउँका रूपमा हेर्ने गरिएको बताए। तर, प्रधानमन्त्री नरेन्द्र मोदीले ती गाउँहरूलाई देशका प्रथम गाउँका रूपमा प्रस्तुत गर्न जोड दिएको उनले उल्लेख गरे। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनजातिय समुदायका मानिसहरूले राष्ट्रको सुरक्षा र सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको पनि उनले बताए।
बैठकमा भाजपा उत्तराखण्ड प्रदेश अध्यक्ष महेन्द्र भट्ट, प्रदेश महामन्त्री (संगठन) फणीन्द्र नाथ शर्मा, भाजपा महामन्त्री एवं जनजाति मोर्चाकी प्रभारी डा. दीप्ति रावत भारद्वाज, क्याबिनेट मन्त्री खजान दास, अनुसूचित जनजाति मोर्चाका प्रदेश अध्यक्ष डा. प्रेम सिंह राणा, जनजातीय सल्लाहकार परिषद्का उपाध्यक्ष गीताराम गौड तथा अनुसूचित जनजाति आयोगका पूर्वअध्यक्ष मूरत राम शर्मालगायत पार्टीका पदाधिकारी र कार्यकर्ताहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / भवानी थामी