आईटीबीपी स्थापना दिवसमा उपराष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीद्वारा शुभकामना व्यक्त
प्रतीकात्मक


नयाँ दिल्ली, २४ अक्टोबर (हि.स.)। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले शनिवार भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी) को स्थापना दिवसका अवसरमा आईटीबीपीका सबै कर्मीहरु तथा उनीहरूका परिवारलाई हार्दिक शुभकामना दिएका छन्।

उपराष्ट्रपति राधाकृष्णनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, “हाम्रा बहादुर ‘हिमवीर’ साहस, अनुशासन र अटुट प्रतिबद्धताका उदाहरण हुन्। उनीहरूले अत्यन्त कठिन भूभाग र चुनौतीपूर्ण मौसममा देशका सीमाहरूको रक्षा गर्छन्। सीमाको सुरक्षा, विपद्का समयमा राहत कार्य तथा मानवीय सहायता पुर्याउन उनीहरूले निर्वाह गर्ने महत्त्वपूर्ण भूमिकाले देशप्रतिको उनीहरूको निःस्वार्थ सेवाको प्रमाण दिन्छ। राष्ट्रले उनीहरूको वीरता, समर्पण र बलिदानलाई नमन गर्दछ।”

प्रधानमन्त्री मोदीले आईटीबीपीका ‘हिमवीर’हरूले आफ्नो असाधारण साहसबाट आफूलाई प्रमाणित गरेको बताएका छन्। उनीहरूले सधैँ अद्भुत दृढ़ताका साथ हरेक चुनौतीको सामना गरेका छन्। उनीहरूको निःस्वार्थ सेवा र बलिदान देशका लागि प्रेरणाको ठूलो स्रोत रहेको उनले बताएका छन्।

लोकसभा अध्यक्ष ओम बिरलाले हिमालयका अत्यन्त दुर्गम क्षेत्रहरूमा देशका सीमाको रक्षा गर्नेदेखि हरेक चुनौतीपूर्ण परिस्थितिमा राष्ट्रको सेवा गर्नेसम्म आईटीबीपीका जवानहरूले अदम्य साहस, अटुट सङ्कल्प र कर्तव्यप्रतिको समर्पणको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको बताएका छन्। मातृभूमिको सुरक्षाप्रतिको उनीहरूको समर्पण देशका लागि गर्व र प्रेरणाको स्रोत रहेको उनले उल्लेख गरेका छन्। राष्ट्रसेवामा समर्पित आईटीबीपीका सबै बहादुर जवानहरूको वीरतालाई उनले नमन गरेका छन्।

रक्षामन्त्री राजनाथ सिंहले आईटीबीपीका ‘हिमवीर’हरूले अत्यन्त कठिन जलवायु परिस्थितिमा भारतका सीमाहरूको सुरक्षामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनीहरूले वामपन्थी उग्रवाद विरुद्ध प्रयास लगायत आन्तरिक सुरक्षा अभियानमा पनि महत्त्वपूर्ण योगदान दिएका छन्। उनीहरूको साहस, व्यावसायिक दृष्टिकोण र कर्तव्यप्रतिको अटुट समर्पणले राष्ट्रसेवाका उत्कृष्ट परम्पराहरूलाई प्रतिबिम्बित गर्ने उनले बताएका छन्।

केन्द्रिय गृह मन्त्री तथा सहकारितामन्त्री अमित शाहले उनीहरूको वीरताको गुञ्जन हिउँले ढाकिएका पहाड़हरूमा सुनिने बताएका छन्, जसले देशको सुरक्षाका लागि खड़ा हुने हरेक खतरालाई ध्वस्त पार्छ। सबैभन्दा कठिन मौसममा पनि अडिग रहने उनीहरूको साहस भारतको सुरक्षाप्रतिको दृढ़ सङ्कल्पको प्रतीक रहेको उनले उल्लेख गरेका छन्। देशका लागि आफ्नो सर्वोच्च बलिदान दिने शहीदहरूलाई उनले नमन गरेका छन्।

केन्द्रीय सड़क यातायात मन्त्री नितिन गडकरीले देशका सीमाहरूको रक्षा गर्ने क्रममा अत्यन्त कठिन परिस्थितिमा समेत ‘हिमवीर’हरूले देखाउने साहस, अनुशासन र अटुट सङ्कल्पले सेवा तथा बलिदानका उत्कृष्ट परम्पराहरूलाई प्रतिबिम्बित गर्ने बताएका छन्। उनीहरूको यो समर्पण प्रत्येक भारतीयका लागि अत्यन्त गर्वको विषय रहेको उनले उल्लेख गरेका छन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande