
नयाँ दिल्ली, २७ अक्टोबर (हि.स.)। केन्द्रिय जलशक्ति मन्त्री सीआर पाटिलले जलस्रोत, नदी विकास तथा गङ्गा संरक्षण विभागका विभिन्न परियोजना र योजनाहरूको समीक्षा गरेका छन्। उनले अधिकारीहरूलाई परियोजनाहरूको कार्यान्वयनमा देखिएका बाधाहरू पहिचान गरी शीघ्र समाधान गर्न तथा निर्धारित समयभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्। बैठकमा जलशक्ति राज्यमन्त्री राजभूषण चौधरी पनि उपस्थित थिए।
केन्द्रिय जलशक्ति मन्त्रीले समीक्षा बैठकमा विभागका विभिन्न शाखा तथा सङ्गठनहरूले सञ्चालनमा रहेका परियोजना र गतिविधिबारे जानकारी गराएको बताए। यसमा बाढी व्यवस्थापन शाखा, फरक्का ब्यारेज परियोजना, राष्ट्रिय जल अभियान, सिँचाइ क्षेत्र विकास तथा जल व्यवस्थापनको आधुनिकीकरण कार्यक्रम (एम-क्याडडब्ल्यूएम), नदी बेसिन व्यवस्थापन, राष्ट्रिय जल विकास निकाय, केन-बेतवा नदी जोड्ने परियोजना प्राधिकरण, ब्रह्मपुत्र नदीसम्बन्धी विषय, ब्रह्मपुत्र बोर्ड, लघु सिँचाइ तथ्याङ्क तथा राष्ट्रिय जलविज्ञान संस्थान समावेश छन्।
बैठकमा बाढी व्यवस्थापन तथा सीमावर्ती क्षेत्र कार्यक्रमअन्तर्गत भइरहेका कामको प्रगतिको समीक्षा गरियो। फरक्का ब्यारेजका ढोका परिवर्तन गर्ने तथा नदी कटान रोक्न अपनाइएका उपायसम्बन्धी काम र तिनको कार्यान्वयनमा देखिएका चुनौतीबारे पनि छलफल भयो। राष्ट्रिय जल अभियानका प्राथमिक गतिविधि तथा पहलहरूको अवस्थाबारे जानकारी लिइयो।
उनले सिँचाइ क्षेत्र विकास तथा जल व्यवस्थापनको आधुनिकीकरण कार्यक्रमअन्तर्गत ३५ वटा नमुना समूहको कार्यान्वयनको समीक्षा गरे। केन-बेतवा नदी जोड्ने परियोजनाको अवस्था, सम्पर्क नहर तथा दौधन बाँध निर्माणसम्बन्धी कामबारे पनि छलफल भयो। ब्रह्मपुत्र बोर्डले गुरुयोजना तथा विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कामको प्रगतिबारे जानकारी गरायो।
बैठकमा लघु सिँचाइ तथ्याङ्क कार्यक्रमअन्तर्गत सञ्चालन भइरहेका चारवटा गणनाको प्रगति तथा राष्ट्रिय जलविज्ञान संस्थानका प्रमुख कार्यक्रमहरूको लक्ष्य र उपलब्धिहरूको पनि समीक्षा गरियो।
पाटिलले अधिकारीहरू तथा सम्बन्धित सङ्गठनका प्रमुखहरूलाई बैठकमा गरिएका निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न र परियोजनाहरूको नियमित अनुगमन गर्न निर्देशन दिए। परियोजनाहरू निर्धारित समयभित्र सम्पन्न गर्न राज्य सरकारहरूसँग अझ राम्रो समन्वय कायम राख्नुपर्नेमा पनि उनले जोड दिए।
/ बिशाल