पत्रकार विजय बान्तवाको निधन प्रेस क्लब अफ् सिक्किमको लागि संस्थागत क्षति: पीसीएस
पत्रकार विजय बान्तवा


गान्तोक, 28 अक्टोबर (हि.स.)। सिक्किमेली पत्रकारिता तथा साहित्य जगतका वरिष्ठ व्यक्तित्व, ‘हिमगिरी’ नेपाली समाचारपत्रका सम्पादक एवं लेखक-कवि विजय बान्तवाको निधनप्रति प्रेस क्लब अफ् सिक्किम (पीसीएस) गहिरो शोक व्यक्त गरेको छ।

लामो समयदेखि उपचारका क्रममा रहेका बान्तवाको आज बिहान ८:३० बजी आफ्नो पैतृक थलो पोख्रेबुङनजिकै सेलेम्बुङ (दार्जिलिङ) मा निधन भएको हो। उनको निधनले सिक्किमेली पत्रकारिता तथा साहित्य क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रेस क्लब अफ् सिक्किमले प्रेस विज्ञप्तिमा बताएको छ।

प्रेस क्लब अफ् सिक्किमका संस्थापक महासचिव समेत रहेका बान्तवाले सिक्किममा पत्रकारिताको विकास, संस्थागत सुदृढीकरण तथा नेपाली भाषा-साहित्यको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ। उनको सक्रियता र योगदान प्रेस क्लबको स्थापना तथा विकाससँग अभिन्न रूपमा जोडिएको छ।

प्रेस क्ल्बले भनेको छ, 'पत्रकारितासँगै लेखन र कविताका क्षेत्रमा समेत विशिष्ट पहिचान बनाउनुभएका बान्तवा विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनुभएको थियो। उहाँलाई सिक्किमेली पत्रकारिता र साहित्यका क्षेत्रमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै प्रेस क्लब अफ् सिक्किमद्वारा २०११ मा कञ्चनजङ्घा कलम पुरस्कारद्वारा अलङ्कृत गरिएको थियो।'

उनको निधन प्रेस क्लब अफ् सिक्किमको लागि संस्थागत क्षति हो भन्दै पत्रकारिता र साहित्यका क्षेत्रमा उनले पुर्‍याएका योगदान तथा प्रेस क्लबको संस्थागत विकासमा निर्वाह गरेका भूमिका सदैव स्मरणीय रहने प्रेस क्लबले बताएको छ। प्रेस क्लब अफ् सिक्किमले स्वर्गीय बान्तवाप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

पारिवारिक सूत्रबाट प्राप्त जानकारीअनुसार, स्वर्गीय बान्तवाको पार्थिव शरीरको अन्त्येष्टि भोलि २९ अक्टोबर, २०२६ मा दिउँसो १२ बजीपछि उनकै गाउँ सेलेम्बुङमा गरिने थाहा लागेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande